arrow

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
sudurpaschim-budget.jpg
तस्बिर-फाइल

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

बैठकमा आगामी आव २०८१/८२ को वार्षिक नीति कार्यक्रम माथि छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको हो । छलफलपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई बैठकमा निर्णयार्थ पेस गरेका थिए ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राप्त सुझावलाई सकेसम्म आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने बताए ।

उनले बजेट निर्माणका क्रममा विचौलियाको चलखेल भइरहेको भन्ने कुरा गलत भएको र उनीहरुको प्रभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि बैठकमा नीति कार्यक्रम माथि भएको छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसका मेघराज खड्का, जुनाकुमारी दानी र राप्रपाका खेमादेवी विष्टले सरकारले ल्याएको नीति कार्यक्रम विगतकै नक्कल भएको र नयाँ कुरा केही नभेटिएको बताएका थिए ।

नीति कार्यक्रम र बजेट निर्माण गर्ने बेलासम्म प्रदेश सरकारले पूर्णता नपाउँदा विकासका काम र मन्त्रालयका गतिविधि प्रभावित बनेको विषय छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले उठाएका थिए ।

छलफलमा सत्तापक्ष नेकपा (एमाले)का धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्ल र सन्तोषीकुमारी थापा शर्मा, नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी, गीतादेवी माल, शिवसिंह ओली, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले नीति कार्यक्रममा समेट्नुपर्ने कतिपय विषय छुटे पनि समग्रमा नीति कार्यक्रम प्रदेशको समृद्धि र विकासका लागि उत्साहजनक रहेको बताए ।

उनीहरुले नीति कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ