arrow

हड्डीको संक्रमण ‘ओस्टियोमाइलाइटिस’ ले ल्याउने जटिलताहरू 

logo
डा कपिलमणि केसी,
प्रकाशित २०८१ जेठ २६ शनिबार
kapilmani-kc-81-2-26.jpg

शरीरका विभिन्न अंगहरूमा रोगका किटाणुहरूले संक्रमण गरे जस्तै जब हड्डी र हड्डीको मासिमा रोगका किटाणु प्रवेश गरेर दुख्ने, सुन्निने र ज्वरो आउने अवस्था आउँछ । त्यसलाई हड्डीको संक्रमण अथवा ओस्टियोमाइलाइटिस भनिन्छ । हड्डीमा हुने संक्रमण अथवा इन्फेक्सन शरीरका अरु अंगहरूमा भए जस्तो सामान्य हुँदैन ।  एकपटक हड्डीमा इन्फेक्सन भैसकेपछि यसलाई निर्मूल पार्नको लागि निकै चुनौतीपूर्ण हुन्छ । 

शुरुकै अवस्थामा भएको संक्रमणलाई एन्टिबायोटिक्सले नियन्त्रणमा ल्याउन सके पनि समय ढिप्केपछि धेरैपटक शल्यक्रिया गरेर वा लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि सन्चो हुन गाह्रो हुन्छ । त्यसकारण शुरुकै अवस्थामा यो रोगलाई पहिचान गरेर उपचार गरेमा यसबाट हुने जटिलताहरूबाट बच्न सकिन्छ ।

ओस्टियोमाइलाइटिस के हो ?
बच्चाबच्चीको शरीरका लामा हड्डीहरू जस्तै थाइ, तिघ्राका हड्डीहरू त्यसमा पनि जोर्नीनेरको भाग (मेटाफासिस) मा  हड्डीको संक्रमण बढी हुन्छ । यद्यपि हड्डीको संक्रमण शरीरका जुनसुकै हड्डीहरूमा पनि हुनसक्छ । हड्डीको मेटाफाइसिसमा रगतका नलीहरू झन्डै १८० डिग्रीको एङ्गलमा घुमेर बसेका हुन्छन् ।  

जिवाणुहरू यस्ता प्रकारका रगतका नसा हुँदै आउँदा यिनीहरूको गतिमा कम आउँदछ र लामो समयसम्म हड्डीमा बस्ने मौका पाउँछन् । यसका साथै जिवाणुहरूसँग लड्ने प्रतिरोधात्मक शक्ति पनि मेटाफाइसिस भागमा कम हुन्छ । त्यसकारण जोर्नी नजिकैको हड्डी (मेटाफाइसिस) मा हड्डीको संक्रमण बढी हुन्छ ।

लक्षणहरू के हुन् ?
बच्चाबच्चीहरूको विशेष त घुँडा, हिप र कुर्कुच्चा नेरको हड्डी अचानक असहैय दुख्ने, सुन्निने र त्यस लगत्तै उच्च मात्राको ज्वरो आउँदछ । बिरामी बिल्कुल पनि टेकेर हिँड्न सक्दैनन् । धेरैजसो अवस्थामा उनीहरूले संक्रमण भएको भागलाई छुनसम्म दिँदैनन् र आफ्नो ठाउँबाट हल्लिदैनन् । यस्तो अवस्थालाई सिउडोपारालाइसिस पनि भनिन्छ । 

माथि उल्लेख गरिएका लक्षणहरू एक दुई दिनमै झन् बढ्दै जान्छन् र बिरामीको अवस्था झन् नाजुक हुँदै जान्छ । बिरामीका आफन्तहरू पिलो आयो भनेर झुक्किन्छन् । सामान्य एन्टिबायोटिक्स खाँदा लक्षणहरू केही कमी भए जस्तो हुन्छ । तर भित्रभित्रै हड्डीमा पिप जम्मा भएर हड्डी पूर्ण रुपमा बिग्रिने अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण यस्ता लक्षणहरू भएका बिरामीहरूलाई देशको पेरिफेरिमा काम गर्ने स्वास्थ्यकर्मीले तुरुन्त हड्डी रोग विशेषज्ञलाई रिफर गर्न उपयुक्त हुन्छ ।

कसरी पत्ता लगाउने ?
९० प्रतिशत घटनामा माथि उल्लेख गरिएका लक्षणहरूको आधारमा हड्डीको संक्रमण भएको भन्ने कुराको अनुमान लगाउन सकिन्छ । एक्सरे गर्दा संक्रमण भएको १० दिनभित्र खासै केही देखिँदैन । यद्यपि १० देखि १५ दिनमा हड्डीमा केही दागहरू देखिन शुरु हुन्छ । रगतमा ईएसआर, सीआरपी र सेता रक्त सेलहरू अत्यधिक मात्रामा बढ्दछन् । 

एमआरई गर्दा लगभग १०० प्रतिशत हड्डीमा संक्रमण भएको भनेर पत्ता लाग्छ । एमआरआईले हड्डीमा संक्रमण शुरु भएको २४ घण्टाभित्रै पत्ता लगाउन सकिन्छ ।

उपचार विधिहरू र चुनौतीहरू 
हड्डीको संक्रमण अथवा ओस्टियोमाइलाइटिस शुरुकै अवस्थामा पत्ता लगाएर उपचार गरेमा पूर्ण रुपमा ठीक हुनसक्छ । यद्यपि डाइग्नोसिस ढिला भएर उपचार पनि ढिला हुन गएमा यो रोगले अत्यन्तै पीडादायी समस्याहरू निम्त्याउँछ । जस्तो कि हड्डीमा दीर्घकालीन संक्रमण (क्रोनिक ओस्टियोमाइलाइटिस ) हुन सक्छ जुन अवस्थामा जिवाणुहरू लामो समयसम्म सुसुप्त रुपमा हड्डीभित्र बस्छन् । 

यसले गर्दा हड्डीबाट पटक–पटक लामो समयसम्म पिप निस्किन सक्छ । लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्नुपर्ने हुन्छ । हड्डीहरू मक्किएर आफसे आफ फ्र्याक्चर हुने अवस्था आउँदछ । लामो समयसम्म उपचार गरिरहँदा आर्थिक रुपमा पनि परिवारलाई ठूलो भार पर्छ । बच्चाबच्चीहरू खेलकुद तथा पढाइमा राम्रो गर्न सक्दैनन् । यद्यपि हड्डीको संक्रमण उमेर पुगेका मानिसहरूलाई पनि हुन्छ तर सानो उमेरमा धेरै कमन हुन्छ । 

यो रोगको गाँठी कुरा भनेको शुरुकै अवस्थामा  रोगका लक्षणहरूलाई  पहिचान गरेर तुरुन्त उपचार गर्ने हो । ४८ घण्टाभित्र रोग पत्ता लागेमा नसाबाट एन्टिबायोटिक्स दिएर पूर्ण रुपमा ठीक पार्न सकिन्छ । ४८ घण्टापछि जब अलिअलि पिप जम्मा हुन लागेको बेलामा अपरेसन गरेर हड्डीमा प्वाल पारेमा हड्डीभित्रको सबै पिप बाहिर निस्कन्छ र हड्डी बिग्रिन पाउँदैन । 

एकपटक हड्डी बिग्रिएपछि पलाउनको लागि निकै अप्ठेरो हुन्छ । बिडम्बनाको कुरा के छ भने आजको दिनमा पनि हड्डीको संक्रमण दीर्घकालीन भएर धेरै बच्चाबच्चीहरूले कष्टकर जिन्दगी गुजारिरहेका छन् । मूलतः दुई कारणले गर्दा यो रोग ढिला पत्ता लाग्छ । पहिलो कुरा त सामान्य मासुको इन्फेक्सन हो भन्ने धारणाले आमाबुबाले छोराछोरीहरूलाई ढिलो अस्पताल लग्छन् । 

दोस्रो कुरा स्वास्थ्यकर्मीहरू पनि कहिलेकाहिँ मासुको इन्फेक्सन हो भनेर झुक्किन सक्छन् विशेष गरी दुर्गम भेगमा काम गर्दा जहाँ सीमित स्रोत साधनहरू हुन्छन् । अन्त्यमा शुरुकै अवस्थामा हड्डीको संक्रमण पत्ता लगाएर बच्चाबच्चीहरूलाई अपाङ्गता हुनबाट जोगाऔँ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ