arrow

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छु : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
dirghabahadur-sodari-ncp-as.jpg
तस्बिर-फाइल

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उहाँले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ। आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ’, उनले भने।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राखे।

उनले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए।

‘प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैँ सरकारलाई सहयोग गर्न तयार छ। बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाउ पुर्‍याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ’, उनको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले वित्तीय हस्तान्तरण नीति स्पष्ट हुनुपर्ने बताए। उनले विकास आयोजना जनताको घरदैलोमा पुग्नेगरी बजेट विनियोजन हुनुपर्नेमा समेत जोड दिए।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताए। ‘एकातिर बजेटको अभाव छ, अर्कातिर कर्मचारी छैनन्, कसरी काम गर्ने ?’, उनले प्रश्न गरे।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुख-उपप्रमुख, स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, प्रदेशका मुख्यसचिव, प्रदेश सचिवहरू, अधिकारकर्मी, विभिन्न विषयका विज्ञहरू, सञ्चारकर्मीलगायतले विभिन्न विषयहरूमा आ-आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ