arrow

पाकिस्तानले हरायो क्यानाडालाई, भारत र अमेरिकाबीचको आजको विजेता सुपर एटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
t20-wc-2024-pak-can.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले जित हासिल गरेको छ । लगातार दुई खेल हारेर सुपर एट सम्भावना कमजोर बनाएको पाकिस्तानले तेस्रो खेलमा क्यानाडामाथि जित हासिल गरेको हो । 

गएराति भएको खेलमा पाकिस्तान ७ विकेटले विजयी भयो । न्यूयोर्कमा भएको खेलमा क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०६ रन बनायो । 

ओपनर आरोन जोन्सन एक्लैले ४४ बलमा ५२ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिँदा क्यानाडा सस्तैमा समेटियो । अन्य दुई ब्याट्सम्यानले मात्र दोहोरो स्कोर जोडेका थिए । 

मोहम्मद अमिर र हरिस राउफले २–२ विकेट लिए ।

जवाफमा पाकिस्तानले १७.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर मोहम्मद रिजवानले ५३ बलमा अविजित रहँदै ५३ रन बनाए । 

कप्तान बाबर आजमले ३३ बलमा ३३ रन बनाए । डिलोन हेलिगरले २ विकेट लिए । 

यो हारपछि क्यानाडाको सुपर एट पुग्ने सम्भावना लगभग सकिएको छ ।

अंक तालिका
समूह एमा २ खेलबाट ४–४ अंकका भारत र अमेरिका शीर्ष दुईमा रहेका छन् । दुवै टिमले खेल्न बाँकी २ मध्ये १ खेल जिते सजिलै सुपर एटमा पुग्नेछन् । 

त्यसो भए समान २ अंकका पाकिस्तान र क्यानाडासँगै २ खेलबाट अंकविहीन आयरल्याण्ड स्वतः बाहिरिने छ । 

आज राति भारत र अमेरिका भिड्दै छन् । जित्ने टिम सुपर एटमा पुग्नेछ । हार्ने टिमले अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । खेल रद्द हुँदा दुवै टिम सुपर एटमा पुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ