arrow

विश्वकप टी–२० क्रिकेट

बंगलादेशले नेदरल्याण्ड्सलाई हरायो, नेपाल दबाबमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
t20-wc-2024-ban-net.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्याण्ड्सलाई हराएको छ । 

बिहीबार राति किङ्सटाउनमा भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि २५ रनको जित हासिल गरेको हो । 

पहिले ब्याटिङ गरेको बंगलादेशले ५ विकेटको क्षतिमा १५९ रन बनायो । शकिब अल हसनले ४६ बलमा अविजित रहँदै ६४ रन जोडे । त्यस्तै तन्जिद हसनले २६ बलमा ३५ रन बनाए । 

आर्यन दत्त र पल भान मिकेरेनले २–२ विकेट लिए । 

जवाफमा नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । साइब्राण्ड एन्जलब्रेच्टले २२ बलमा ३३ रन बनाए । रिशद हुसेनले ३ तथा तस्किन अहमदले २ विकेट लिए । 

यो खेलपछि बंगलादेशको सुपर एट सम्भावना बलियो भएको छ भने नेपाल दबाबमा परेको छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

नेपालले शनिबार बिहान बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकासँग खेल्नेछ । यो खेल जित्दा नेपालको सुपर एट सम्भावना बलियो हुनेछ । 

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ । 

नेपालको टिममा सन्दीप लामिछाने पनि हुने भएकाले नेपालको आशा बलियो रहने छ । विपक्षी टिमको मनोबल खस्किन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ