arrow

क्रिकेट उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
cricket-wicket-2023.jpg
तस्बिर-फाइल

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने भएका छन् ।

समूह ‘बी’ अन्तर्गत बुधबारको खेलमा स्याङ्जा अपराजित रहँदै ६ अंक बटुलेर कास्कीसँग फाइनल भिडन्त पक्का गरेको हो । समूह ‘ए’ बाट कास्की यसअघि फाइनल पुगिसकेको थियो ।

बुधबार लिग चरणको अन्तिम खेलमा नवलपुरलाई स्याङ्जाले २ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६दशमलव४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए । कमल परियारले २२ बलमा १८ रनमात्र जोड्न सके ।

यस्तै, सुदीप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै २ विकेट गुमाउँदै दबाबमा रहेको नवलपुर १३दशमलव६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।

प्लेयर अफ दि म्याच बनेका स्याङ्जाका लागि सन्दीप खत्री क्षत्रीले २दशमलव४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्यो । १६दशमलव२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेटाउन सक्यो ।

जितका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । ईश्वर क्षत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले नटआउट रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिँदा दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट समेत रहेको यो प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । फाइनल बिहीबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ