arrow

स्याङ्जाले जित्याे क्रिकेट उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
syangja-winner.jpg

पोखरा । कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टी-२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९दशमलव३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो ।

१०८ रनको लक्ष्य लिएर जवाफी व्याटिङका लागि उत्रिएको स्याङ्जा ३९ बल बाँकी छंदै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

कास्कीको सुरुवात खासै जम्न सकेन । कास्कीका भरपर्दा मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे ।

मुस्कान थापा ३ रन बनाउँदै आउट भए भने अभिषेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुँवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए ।

स्याङ्जा का लागि ३दशमलव४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए ।

यता, स्याङ्जाका ओपनर ईश्वर क्षत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङ्जालाई दबावमा राखेको थियो ।

स्याङ्जाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए ।

अर्का व्याट्सम्यान सन्दीप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड आउट गरे । त्यस अघि उनले २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे ।

सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिषेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङ्जाका करण पगेनी प्लेयर अफ दि म्याच घोषित भए ।

विजेता स्याङ्जाले नगद एक लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगदसहित ट्रफी हात पारे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको समापनका अवसरमा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाए ।

पूर्व मन्त्री पञ्चराम गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य भूमिका खेलेको बताउँदै युवालाई आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न सुझाव दिए ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक ऋषिराम गौतम, क्यानका केन्द्रीय सदस्य सुदीप पौडेल, यू-१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, परिषद्का सदस्य केशव पाठकलगायतले पुरस्कार वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ