arrow

घुँडा खिइएका बिरामीले कस्तो प्रकारको ब्यायाम गर्नु पर्दछ ?

logo
डा. कपिलमणि केसी,
प्रकाशित २०८१ असार ८ शनिबार
dr-kapilmani-kc-81-3-7.jpg

ओपीडीमा आउने प्रत्येक पाँचदेखि १० जना बिरामीमध्ये एक बिरामी घुँडा खिइएको समस्याबाट पीडित भएको पाइन्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने घुँडा खिइने समस्या अति नै प्रचलित समस्या हो । विशेषगरी बुढाबुढी, वजन ज्यादा भएका, गाउँमा धेरै काम गर्ने र महिलाहरूमा घुँडा खिइने समस्या बढी हुन्छ । 

जानेर वा नजानेर घुँडा खिइएका बिरामीहरूले गलत प्रकारको ब्यायाम अथवा क्रियाकलाप गर्दा समस्या झन्–झन् बढ्न सक्छ । त्यसकारण कस्ता प्रकारका ब्यायामहरू गर्नुहुन्छ वा हुँदैन भन्ने कुराले पनि ठूलो महत्व राख्छ ।

घुँडा खिइएका बिरामीहरूले उकालो ओरालो बाटो धेरै हिँड्नु हुँदैन । घरमा पनि धेरै मात्रामा तलमाथि गर्नु हुँदैन । टुक्रुक्क बस्ने पलेँटी मारेर बस्नु राम्रो हुदैन। विशेषगरी वजन ज्यादा भएका मानिसहरूको घुँडा खिइने समस्या बढी हुने भएकाले यस्ता बिरामीहरूले हिँडेर वजन घटाउन मिल्छ कि मिल्दैन भन्ने कुरा चलाखीपूर्ण छ । 

वजन घटाउने महत्वपूर्ण उपायहरूमध्ये एउटा हिँडडुल गर्नु पनि हो । तर वजन घटाउने भनेर एकैदिन १० किलोमिटर हिँड्दा न त राम्रोसँग वजन घट्छ न त यसले घुँडा खिइएकोलाई फाइदा गर्दछ । 

बरु यस्तो प्रकारको ब्यायामले घुँडा खिइने समस्या ज्यादा हुन्छ । बिरामीहरूले दुखाइ बढी भएको महसुस गर्दछन् । त्यसकारण एउटा कुरा के प्रष्ट हुन्छ भने घुँडा खिइएका बिरामीहरूले धेरै हिँडडुल गर्नु हुँदैन । यद्यपि नियमित रूपमा थोरै–थोरै समतल (सम्म) बाटो हिँड्दा हड्डी बलियो हुने भएकाले दीर्घकालीन रूपमा केही फाइदा हुन सक्छ । घुँडा खिइएका बिरामीहरूले वजन घटाउनु परेमा खानपिनमा ज्यादा ध्यान दिनु पर्दछ ।

सुगरको डाक्टरले धेरै हिँड्नु पर्दछ तर हड्डीको डाक्टरले धेरै हिँड्नु हुँदैन भनेर भन्छन् । हामीहरूले के गर्ने भनेर कहिलेकाहिँ बिरामीहरूले प्रश्न गरेको पाइन्छ ।  यो पश्न महत्वपूर्ण पनि छ किनभने धेरै हिँड्दा हड्डी खिइन्छ, थोरै हिँड्दा सुगर बढ्ने सम्भावना बढी हुन्छ । 

अर्थोपेडिक डाक्टरले हिँड्न हुँदै नहुने र सुगरको डाक्टरले हिँड्नै पर्ने भनेर बिरामीलाईं दोधारमा पार्ने कुरा गर्नु हुँदैन । मध्यमार्गी बाटो अपनाउनु पर्दछ ।  प्रयोगात्मक रुपमा हड्डी खिइएर धेरै दुःखेको बेलामा बिल्कुल हिँड्नु हुँदैन तर दुखाइ कम भएको बेलामा थोरै थोरै नियमित रुपमा हिँड्ने गर्दा दुवै समस्यालाई सम्बोधन गर्न सकिन्छ । 

यो बाहेक कुनै कुनै बिरामीले घुँडा खुम्चाएर उठ बस गर्ने ब्यायामलाई बढी महत्व दिन्छन् । यस्तो प्रकारको ब्यायाम घुँडा खिइएका बिरामीहरूले बिल्कुल गर्नु हुँदैन । 

पिटी परेड खेल्ने, उफ्रने जस्ता ब्यायामहरू पनि गर्नु हुँदैन। फिजियोथेरापिस्टको सल्लाह अनुसार थाइको मासु बलियो बनाउने ब्यायाम नियमित रूपमा लामो समयसम्म गर्दा घुँडा खिइएका बिरामीहरूलाई निकै लाभदायक हुन आउँछ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ