arrow

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यक : नारायणकाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
narayankaji-shrestha-2080-06-07.jpg
तस्बिर-फाइल

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वमाथि जोड दिएका छन् ।

इरानको राजधानी तेहरानमा सोमबार सम्पन्न एसिया सहयोग संवाद (एसिडी) को १९औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एसिडी क्षेत्रीय र बाह्य प्रभाव पार्ने दबाबका मुद्दामा खुला र परामर्शदायी संवादका लागि एसिया क्षेत्रीय मञ्चका रूपमा विकसित भएको उल्लेख गरे । 

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो सम्बोधनमा क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको बलियो प्रतिबद्धता दोहोर्याउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साथै उनले विकास, दिगोपन र समृद्धिको साझा उद्देश्यसहित दिगो विकास लक्ष्य हासिल गर्न एसीडी भिजन २०३० र एसीडी खाका २०२१-२०३० कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए । 

उनले कोभिड-१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भूराजनीतिक प्रतिद्वन्द्वीका कारण उत्पन्न चुनौतीबारेमा प्रकाश पारेका थिए ।

उनले थप एकीकृत, लचिलो र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वलाई पनि जोड दिएका थिए । 

बैठकको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेश मन्त्री डा अली बघेरी, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री उ थान स्वे, बहराइनका विदेश मामिला मन्त्री डा अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेश मामिला मन्त्री अब्दुल्ला अली अल-याह्या, साउदी अरेबियाका उपविदेश मामिला मन्त्री वालिद बिन अब्दुल करीम अल खराईजी, रूसी सङ्घका उपविदेश मामिला मन्त्री आन्द्रेई रुदेन्कोसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै क्षेत्रीय र विश्वव्यापी मुद्दासहित पारस्परिक हितका विविध विषयमा छलफल गरेका थिए ।      

बैठकले एसिया सहयोग संवाद सचिवालयको कार्यप्रणालीका लागि मार्गदर्शक सिद्धान्त र एसिडी सदस्यहरूबीच सहयोगको रूपरेखा प्रदान गर्ने र यसको सचिवालयको संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने प्रक्रियाका नियम पारित गरेको छ ।

सन् २०१६ देखि एसिया सहयोग संवाद (एसीडी) को सदस्यका रूपमा नेपाल अन्य एसियाली सदस्य राष्ट्रहरूसँग आपसी लाभ र पूरकताका विभिन्न क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले संलग्न हुँदै आएको छ ।  

उपप्रधानमन्त्री श्रेष्ठ साेमबार साँझ तेहरानस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावासले आयोजना गरेको  प्रवासी नेपालीहरुसँगको अन्तरक्रियामा पनि सहभागी भएका थिए ।

सो अवसरमा उनले नेपाल सरकारका सम्बद्ध निकायहरुमार्फत प्रभावकारी र समयसापेक्ष कन्सुलर सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ