arrow

एसलाई टुक्राउने कसरतसँगै प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने परिस्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
prachanda-madhav-nepal-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एसको महाधिवेशनपछि अर्को पटक विश्वासको मत लिनुपर्ने राजनीतिक परिस्थिति बन्न लागेको छ । 

नेकपा एसमा देखिएको विवादले यस्तो परिस्थिति बन्न लागेको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ अध्यक्ष झलनाथ खनालबीच अध्यक्षमा प्रतिस्पर्धा हुन लागेपछि यस्तो अवस्था आएको हो । 

खनाललाई अहिले नेकपा एसका नेताहरु प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा लगायतले बोक्न थालेका छन् । त्यसैगरी जयन्ती राईले पनि साथ दिएको स्रोतको दाबी छ । २०८० गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए ।

सांसदबाट तेस्रो पटक विश्वासको मत लिने क्रममा उनले १५७ मत पक्षमा पाउँदा विपक्षमा ११० मत परेको थियो । तर तेस्रो पटक विश्वासको मत लिएकै दिनदेखि प्रचण्डको सरकार धरापमा परेको संकेत देखिन थालेको राजनीतिक वृत्तमा चर्चा चलेको थियो । 

कारण थियो– सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीले शर्तसहित सरकारको पक्षमा मत दिनु । ती दुवै दलसँग तत्कालीन अवस्थामा २२ मत थियो । 

महाधिवेशनपछि नेकपा एसले समर्थन फिर्ता लिएमा १३९ मात्रै हुनेछ । २ मत यता उता परेमा प्रचण्ड सरकार आफैँ धरापमा पर्ने अवस्था बन्न लागेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डका २०७९ को निर्वाचन अगाडिदेखिकै सहयात्री मानिएका जसपा र एकीकृत समाजवादीले जुनसुकै बेला सरकारबाट बिदा हुने शर्त राख्नुले प्रचण्डलाई अप्ठेरो परेको हो । 

हुनतः केही दिनअघि प्रचण्डले आफ्नो पार्टीको संख्या जादूमयी रहेको बताएका थिए । त्यतिमात्र माधव नेपालले पनि आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन दिने सार्वजनिक रुपमा बताइरहेका छन् ।

‘अहिलेको सरकारसँग माधव नेपाल सन्तुष्ट छैनन् । उनले कुनै पनि बेला समर्थन फिर्ता लिने अवस्था छ’, नेकपा एसका एक पदाधिकारीले भने । 

तर पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा भने अध्यक्ष नेपालकै शैलीमा महाधिवेशनकै कारणले सरकारको बारेमा धारणा बनाउन अप्ठेरो रहेको बताउँछन् । ‘पार्टी विभाजन गर्ने कोसिस भएको छ, यसबाट हामी बच्नुछ’, उनले भने, ‘महाधिवेशन पछिको नेतृत्वले वर्तमान सरकारको बारेमा अलग्गै धारणा बनाउँछ ।’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने क्रममा जसपा सांसद राजकिशोर यादवले रोस्टमबाट भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको कार्यकाल कति लामो हो भनेर म भन्न सक्दिनँ । तर उपलब्धिमूलक होस् भन्न चाहन्छु । तपार्इं उथलपुथल गर्छु भन्नुहुन्छ, सहयात्रीलाई थाहा नै हुन्न । अगाडि विश्वासको मत लिँदा जुन ओज थियो आज छैन । तपाईंकै अनुहारमा त्यो ओज देखिनँ ।’ त्यतिबेला यस्तै प्रतिनिधि सभामा १० सिट रहेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि शर्त पूरा नभए जुनसुकै बेला समर्थन फिर्ता हुने प्रचण्डलाई चेतावनी दिएका थिए । 

संसदमा बोल्ने क्रममा उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू बजेटमा संसद विकास कोषको रकम सुनिश्चित नभए सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ तर अहिले संसद विकासको नाममा कुनै पनि बजेट छैन । 

संसदले मंगलबार बजेट पास गरिसकेको छ । बजेटमा सत्ता पक्षकै धेरै नेताहरु असन्तुष्टि जनाएका थिए । तर सरकार ढल्ने संकेत पाएपछि एमालेले बजेटलाई चुपचाप पास गरिदियो ।

यसैहप्ता प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलहरुका बीचमा कुनै समस्या र असमझदारी नरहेको प्रष्टीकरण दिँदै समझदारीअनुरूप नै सत्ता समीकरण अगाडि बढ्ने अभिव्यक्ति दोहोर्याएका थिए । 

‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्ता समीकरण के हुन्छ भन्ने खालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र शंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन,’ तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्ता समीकरणमा कुनै समस्या छैन र हुँदैन ।’ 

यसको अर्थ प्रधानमन्त्री आफैँलाई यो सरकार कुन बेलासम्म रहन्छ भन्ने विश्वास छैन । प्रचण्ड सरकारका महत्वपूर्ण साझेदार मध्येका एक उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि हुन । उनी ताके परे...शैलीमा अघि बढिरहेका छन् । उनलाई सहकारी ठगीको गम्भीर आरोप छ ।

उनीमाथि संसदीय छानबिन समिति बनिरहेको छ । तर पनि उनले आफूलाई सरकारको एक मुख्य हिस्सेदारको रुपमा राखिरहेका छन् । सरकारी भागबण्डामा आफ्ना मान्छे घुसाउन खोजी गरिरहेका छन् । 

राजदूत नियुक्तिको मापदण्ड र अन्य नियुक्तिमा पनि आफ्नो पार्टीका मान्छे खोजी गरिरहेका छन् । तर उनीमाथि लागेको आरोपमा कति दिन टिक्छन् भन्ने बारेमा केही बताउन सकेका छैनन् ।

उता नेकपा माओवादीका महासचिव देव गुरुङले यो सरकार लामो समय जाने बताउँदै आएका छन् ।

‘यो सरकार पूरै अवधि टिक्नेमा मेरो विश्वास छ, अहिलेको अवस्थामा एमाले र अन्य दलहरुले प्रचण्ड सरकारलाई विश्वास गरेका छन् गठबन्धन लामो समय जान्छ’, गुरुङले विश्वासका साथ भने । 

गृहमन्त्री लामिछानेविरुद्ध खारेजभएको नेपाली नागरिकताबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकाले सांसद पद खारेजीको माग गर्दै ०८० मंसिर २८ मा रिट दर्ता भएको थियो । 

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । 

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजको माग गर्दै परेको रिट अदालतमा विचाराधीन छ । 

यता सहकारी ठगीमा मुछिएका कारण गृहमन्त्री पदबाट निलम्बन गरियोस् भन्ने अर्को रिट सर्वोच्चमा छ । हेर्दाहेर्दैमा परेको यो रिटमाथि असार १८ गते सुनुवाई तोकिएको छ ।  

सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा जेठ १५ गते ७ सदस्यीय समिति गठन भएको छ । यस्तो अवस्थामा सत्ता माओवादी र एमालेका नेताहरु यही सरकार टिक्नेमा ढुक्क रहेका छन् । 

प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरण दलहरुबीचको समझदारीअनुसार अगाडि बढ्ने बताए पनि सत्ता साझेदार रास्वपा भने गठबन्धन पछिसम्म जानेमा निश्चिन्त देखिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ