arrow

क्षत्रपाटी चिकित्सालयमा अर्को अनियमितता, कोटेशनकै भरमा करोडौँ भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
chhatrapati-hospital-81-2-2.jpg

काठमाडौँ । समुदाय स्तरबाट सञ्चालित क्षत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणाधीन नयाँ भवनमा अर्को अनियमितता भएको पाइएको छ । चिकित्सालयले क्षेत्रपाटीमा निर्माण गरिरहेको ८ तले भवनको आन्तरिक डिजाइनमा बिना टेन्डर करोडौँ रुपैयाँ भुक्तानी भएको पाइएको हो । सार्वजनिक खरिद ऐनको प्रावधान विपरीत कोटेशनको भरमा एउटै व्यक्तिलाई करोडौँ रुपैयाँको ठेक्का दिइएको छ । 

सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार १० लाख रुपैयाँभन्दा धेरै रकमको कामको लागि अनिवार्य रुपमा खुला टेन्डरमा जानुपर्छ । त्योभन्दा कमको लागि भने कोटेशनको आधारमा काम गर्न सकिन्छ । तर एउटै व्यक्ति वा संस्थालाई एक वर्षमा १० लाखभन्दा धेरैको ठेक्का दिन पाइँदैन । ठूलो टेन्डरमा खुला प्रतिस्पर्धा हुँदा कामको गुणस्तर र लागत दुवै प्रभावकारी होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

तर सार्वजनिक खरिदसम्बन्धी कानूनको यही छिद्र प्रयोग गरेर चिकित्सालयले भने एकै आर्थिक एउटै व्यक्तिलाई पटक पटक गरी करोडौं रुपैयाँ भुक्तानी गरिसकेको छ । 

भवनको बाहिरी संरचनाको लागि ठेक्का लगाएर निर्माण सकिसकेको चिकित्सालयले अहिले आन्तरिक संरचना, डिजाइन र साजसज्जाको काम गरिरहेको छ । यसका लागि सम्पूर्ण जिम्मा मनराजा लवत र सानु महर्जनलाई दिइएको छ । मनराजाले आफूलाई इन्टेरियर डिजाइनरको रुपमा चिनाउँछन् । सानु महर्जन भने ठेकेदार हुन् । करोडौं लागत रहेको उक्त संरचना निर्माणको कामको सबै जिम्मेवारी उनै दुईजनाले हेर्दै आएका छन् । उनीहरुकै सिफारिस बमोजिम चिकित्सालयले जथाभावी भुक्तानी दिँदै आएको स्रोतको भनाइ छ । 

अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठ भवनको आन्तरिक डिजाइनको काम यसरी बिना टेन्डर दिइएको स्वीकार गर्छन् । यसरी टेन्डर गर्नु आफ्नो रहन नभएर बाध्यता भएको उनको दाबी छ । अस्पतालसँग एकैपटक धेरै पैसा नहुने र पैसा जुटेको आधारमा काम गर्नुपर्ने भएकोले यसरी जिम्मा दिने गरेको उनको भनाइ छ । 

‘अस्पतालसँग एकैपटक करोडौँ पैसा हुँदैन, सहयोगहरु कति आउँछ भन्ने यकिन पनि हुँदैन, स्रोत नै सुनिश्चितता नभइकन टेन्डर आह्वान गर्नसक्ने कुरा पनि भएन ।’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जति सहयोग आउँछ, जति अस्पतालबाट आम्दानी हुन्छ, त्यही अनुसार काम गर्नुपर्ने अवस्था छ, त्यही भएर धेरैपटक भुक्तानी दिइएको जस्तो देखिएको हो ।’

अध्यक्ष श्रेष्ठ आन्तरिक डिजाइनको जिम्मेवारी लवत र महर्जनलाई दिएको पनि स्वीकार गर्छन् । तर, उनीहरुले नै काम गर्ने नभएर ठेकेदारहरु खोज्ने काम मात्रै उनीहरुको रहेको श्रेष्ठको दाबी छ । ‘सानु महर्जन ठेकेदार भएकोले उहाँलाई कोसँग काम गराउने, कस्तो काम गराउने भन्ने थाहा छ, मनराजालाई इन्टेरियर डिजाइनको बारेमा थाहा छ, त्यही भएर उहाँहरुलाई जिम्मा दिइएको हो । उहाँहरुलाई नै काम दिइएको होइन । अस्पतालसँग पैसा भएपछि उहाँहरुले ठेकेदार खोज्नुहुन्छ, अनि काम लगाउँछौं, ठेकेदार एउटै गरेको छैन, फरक फरक छ ।’

अध्यक्ष श्रेष्ठले यसो भन्दैगर्दा लवत भने अस्पतालको ठेक्कापट्टासँग आफ्नो कुनै सरोकार नभएको बताउँछन् । आफूले इन्टेरियर डिजाइनको काम निःशुल्क गरिदिएको भन्दै आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ ।

क्षेत्रपाटी चिकित्सालयमा भएको अनियमिताको घटनाबारे हाम्राकुराले यसअघि पनि समाचार प्रकाशन गर्दै आएको छ । चिकित्सालायलाई आवश्ष्क नै नदेखिएको अवस्थामा इमर्जेन्सी विस्तार गर्न भन्दै बाटो नै नभएको र सरकारी मूल्यांकनमा ७ लाख रुपैयाँ रहेको जग्गालाई प्रतिआना ७५ लाख रुपैयाँ तिरेर किनिएको, जक्सा पास नै नगरी संरचना निर्माण गरेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । 

गणेशमान श्रेष्ठको पहलमा २०१३ सालमा स्थापना भएको उक्त चिकित्सालय सो क्षेत्रकै नमुना हस्पिटलको रुपमा स्थापित भए पनि पछिल्लो समय अध्यक्ष श्रेष्ठ र कार्यसमितिका सदस्यहरुको मनोमानी र अनियमितताका कारण संस्थाको छवि खस्किँदै गएको छ ।

केही समय अघि सिटीस्क्यान खरिदमा एउटै कम्पनी मात्रै योग्य हुनेगरी स्पेसिफिकेसनमा सेटिङ गरेको समाचार बाहिरिएपछि काठमाडौं महानगरपालिकाले उक्त टेन्डर प्रक्रिया नै रद्द गरिदिएको थियो । अहिले सिटी स्क्यान खरिदका लागि अस्पताल प्रशासनले फेरि प्रयास गरिरहेको छ । तर, सरोकारवालाहरु भने एकपटक अनियमितता भएको प्रमाणित भइसकेपछि फेरि त्यही व्यक्तिले टेन्डर गर्ने अधिकार नहुने भन्दै नैतिक प्रश्न उठाइरहेका छन् ।
 



नयाँ