arrow

पत्रकार महासंघमा प्रेस युनियनले लगायो ताला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
press-union-gandaki.jpg

पोखरा । नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन गण्डकीले कास्कीस्थित नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको कार्यालयमा ताला लगाएको छ ।

विशेषगरि पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको बिषयमा असमति जनाउँदै युनियनले यी दुवै कार्यालयमा तालाबन्दी गरेको छ । तालाबन्दी गर्नु अघि महासचिव प्रकाश ढकालले विज्ञप्ति प्रकाशित गरी युनियका मागसहित धारणा सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको हाम्रो ठहर छ ।’

युनियनले अहिले सदस्यता वितरणमा देखिएको विवालका सम्बन्धमा भएका मिहीन ढंगबाट छानविन गर्न माग गरेको छ । महासंघ विधान अनुसार चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुने युनियनले चेतावनी दिएको छ ।

महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघको निर्वाचन समितिले मतदाता पत्रकारका अन्तिम नामावलीसमेत प्रकाशत गरिसकेको अवस्था छ । युनियनको यो आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

युनियनद्वारा जारी विज्ञप्ति

नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा केन्द्रीय समितिले गरेको अलोकतान्त्रिक निर्णयप्रति नेपाल प्रेस युनियन गण्डकीको ध्यानाकर्षण भएको छ । सदस्यताको सुरुआत र किनारा लगाउने बैधानिक विधि हुँदाहुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारहरुलाई अन्याय भएको हाम्रो ठहर छ । (नयाँ र पूराना दुवै)

१. सुर्खेत साधारणसभाबाट सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गरिएकोमा उक्त अभियानप्रति आज पनि नेपाल प्रेस युनियनको पूर्ण समर्थन र साथ छ । तर मापदण्ड र सदस्यता वितरणमा कतैपनि तादम्यता नमिलेपछि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइएकोमा कतैबाट सुनुवाई भएन । जिल्लाबाटै सिफारिस नभएका व्यक्तिले सदस्यता पाउने वैध आधार के हो ?

२. कुनै जिल्लाले एक वर्षअघि नै नयाँ सदस्यताको सिफारिस गर्दा सदस्यता नपाउने तर कतै चाहिँ जिल्लाले सिफारिस नै नगरेको व्यक्तिलाई निर्वाचनको सम्मुखमा सदस्यता दिने मापदण्ड के हो ? पत्रकार महासंघको सदस्यता पत्रकारिता गर्ने व्यक्तिले पाउने हो कि कुनै अमुक संगठनमा आवद्ध भएपछि पाउने हो ? एउटै मापदण्डमा कसैलाई सदस्यता दिने कसैलाई नदिने कुन विधि हो ?

३. गण्डकीका मनाङ र मुस्ताङ जिल्लाको सदस्यता शुद्धीकरणपछि शाखाको अस्तित्व समाप्त भएको छ । ति जिल्लामा शाखा रहने हो कि होइन ? उनीहरुले मतदान कहाँबाट गर्ने हो ? कसलाई गर्ने हो ? स्पष्ट जवाफ दिनु पर्छ कि पर्दैन ?

४. अहिले सदस्यता वितरणमा जुन विवाद भैरहेको छ यसको कारण के हो ? विवादको सिर्जना कहाँबाट भयो ? कसका कारणले भयो ? नेपाल प्रेस युनियन गण्डकी यसको मिहीन ढंगबाट छानविनको माग गर्दछ । सदस्यता वितरणको विवाद नटुंग्याई निर्वाचन तालिका सार्वजनिक गरिएकोमा हाम्रो गम्भीर असहमति छ । यदि विधान अनुसार महासंघ चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुनेछौं ।

अन्तमाः लोकतन्त्रवाद र पत्रकारवादको पक्षमा नेपाल प्रेस युनियन सदैव जिम्मेवार छ । त्यो जिम्मेवारी पूरा गर्न हामी तयार छौं ।आवश्यक वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग अपिल पनि गर्दछौं । सदस्यता निगाह होइन, अधिकार हो । महासंघको जिम्मेवार पदमा रहेकालाई हेक्का होस् । यसर्थ, माथि उठान गरिएका प्रश्नहरुको वैधानिक जवाफ विना महासंघको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने सम्बन्धित सबैमा जानकारी गराइन्छ । जवरजस्ती गर्न खोजिए त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ हुनेछ । (प्रकाश ढकाल-महासचिव)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ