कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता आवश्यक : सांसद बराल
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
432
Shares
पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता आवश्यक हुने बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित असारे १५ अर्थात् धान दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद बरालले नियम र कानूनअनुरुप उपभोक्ताको सेवा गर्न आवश्यक रहेको बताए ।
उनले उच्च मनोबल बोकेर कर्मचारीले सेवा गर्दा कुनै समस्या नहुने भन्दै पोखरामा पानीको माग बढेसँगै आपूर्तिको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत आम कर्मचारीको बृहत्तर हित गर्नु पर्ने समय आएको बताए । उनले कर्मचारी सेवा, शर्त र विनियमावली अति नै आवश्यक रहेको बताए ।
उनले साउन महिनामा कर्मचारी सेवा, शर्त र विनियमावली प्राप्त नभए आन्दोलनको गर्ने चेतावनी दिए । संस्थानमा क्रियाशील युनियनहरु एक भएको भन्दै धमलाले कर्मचारीमा अनुशासन, दक्षता र उपभोक्ता मैत्रीभाव हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रशासन प्रमुख एवं संघका सल्लाहकार विष्णुप्रसाद रेग्मीले सबै कर्मचारीको एकताले मात्र कार्यालय सञ्चालन हुने भएकाले अनुशासित र मर्यादित बन्न आग्रह गरे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारीले एकताबद्ध भएर सस्ंथानको समस्या संयुक्त रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, सहायक प्रशासन अधिकृत शिवराज भण्डारी, विन्ध्यवासिनी इकाई प्रमुख प्रकाश सिलवाल, सवइन्जिनियर लक्ष्मण पाण्डे, अखिल नेपाल सरकार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका गण्डकी प्रदेश संयोजक हरि पौडेल लगायतले बोलेका थिए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेखा केसीले स्वागत र सदस्य विक्रम बरुवालले कार्यक्रम सञ्चालन गरेका थिए ।