arrow

माओवादी केन्द्रको पदाधिकारी बैठक

प्रचण्डले राजीनामा नगरी बालुवाटार बसाइ लम्ब्याउने [भिडियो]

तुरुपलाई एउटा फाल्ने काम चाहिँ अर्को गर्ने षडयन्त्र भयो, संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान व्युँताउने षडयन्त्र गरेको जिकिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
prachanda-tenson-new.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  राजीनामा नगरी बालुवाटार बसाइ लम्ब्याउने भएका छन् ।  नेपाली कांग्रेस र एमालेको सहमतिमा सरकार बन्ने भएपछि पनि प्रचण्डले तत्काल राजीनामा नदिई बालुवाटार बसाइ लम्ब्याउने भएका हुन् । 

कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको माओवादी केन्द्र को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसद्को सामना गरेर विश्वासको मत दिने धारणा राखेका हुन् । यता बैठकमा पार्टी नेताहरूले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाएको र पार्टीको तर्फबाट पनि सबै नेताहरूले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेस र एमालेसँग पनि अहिले सहमति भए पनि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

माओवादी केन्द्रका नेताहरूले दुई दलबीच सरकार बनाउने सहमति गर्ने र त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने कुरा राजनीतिक रूपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । त्यसैले गरी बैठकले कांग्रेस–एमाले सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।

सचिव पौडेलले भने, ‘अब खास गरी प्रधानमन्त्रीसँग पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षले हिजो ४ घण्टा एकथरी कुरा गर्नु भयो । बेलुका अर्को थरी सहमति भयो । जस्ताको तस्तै भनिदिएको भए हुन्थ्यो । अहिलेको बहालवाला सम्माननीय प्रधानमन्त्री बसिरहनु पर्छ भन्ने केही थिएन । यदि सहमति हो भने जस्तोको तस्तै भन्नुस् भनेर २ दिनसम्म उहाँले लगातार भन्नु भयो । उहाँले केही पनि भएको छैन, हामी मिलेर जाने हो । हामी त धेरै परसम्म मिलेर जाने हो भनिरहेको स्थितिमा अब राति जो प्रकारको सहमति भयो । त्यो सहमतिको एक प्रकारको राजनीतिमा एकातिर एक थोक भन्ने, अर्कोतिर अर्कोथोक गर्ने कुरा भएको सहजै अनुमान गर्न सकिन्छ । अव प्रधानमन्त्रीले के गर्ने त भन्दा अब प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । गणित सो गर्न जाने, संसद फेस गर्ने र संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । हामीले पार्टीको तर्फबाट पनि सबैले एकमतले विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरूसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेस सँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुरा भएको छ । एकातिर एउटा सहमति गर्ने, अर्कोतिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरू पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर मिल्छ र ? जे हो त्यही भन्नुपर्दथ्यो नि । त्यसकारणले तुरुपलाई एउटा फाल्ने, काम चाहिँ अर्को गर्ने जे भएको छ । यो चाहिँ षडयन्त्र हो । यसको चाहिँ प्रतिवाद गर्ने भन्ने कुरा भएको छ । जसले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्छ, उसैको सरकार हुन्छ । त्यो घुर्क्याउने भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति हामी पहल गर्छांै । र जुन कुरा बाहिर सार्वजनिक भएको छ खास गरी संविधान संशोधन गर्ने कुरा । के विषयमा संविधान संशोधन हो ? के आवश्यकता पर्‍यो ? के खडेरी पर्‍यो, देशका के सङ्कट पैदा भयो ? त्यो विषय बुझ्न बाँकी नै छ । कतै २०४७ सालको संविधान ब्युँताउने षडयन्त्र त छैन ? यो विषयमा गम्भीर प्रश्न उठेको छ । यो विषयमा पनि हामीले विभिन्न पक्षहरूसँग कुरा गर्ने भनेका छौँ । ’

एमालेले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विश्वासको मत फिर्ता लिए संसद्बाट विश्वासको मत लिने निर्णय भएको बताए ।  संविधानअनुसार सत्ताधारी कुनै दलले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ