arrow

प्रचण्डले राजीनामा दिनुभएको छैन, अहिले नै खुशी हुनसक्ने अवस्था छैन - शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
shekhar-koirala-03-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । 

उनले संविधानलाई सबैले मान्नुपर्ने बताए । उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए ।

उनले भने, ‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनयो । उहाँहरूको बीचमा के मिलेन, फेरि कांग्रेससँग आयो । त्यसपछि फेरि कांग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोली पनि रहेको थिएँ । त्यसकारण हामीले संविधानमा मिनिमम केके सुधार गर्न सक्छौँ ? किनभने संविधानको डकुमेन्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला । ती धेरै कुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तीमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ की । जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरू पनि थियो । मुख्य त्यही थियो । समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन । समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिस्पर्धा गरौँ । दलितको बीचमा प्रतिस्पर्धा गरौँ । यो कुरालाई अघि बढाउ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ । सबै साथीहरूसँग कुरा गर्दा अन्ततोगत्वा आएको छ, तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ