arrow

विषादीको बजार, छैन कतै अर्गानिक

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८१ असार २२ शनिबार
badri-ojha-81-3-22.jpg

अर्गानिक साग हो, अलिकति टिपिदिउँ ? ती आमाले हामीलाई सोधिन् । हामी भागुँला झै भयौँ, वातावरणमा आमाले भर्खरै छर्केको विषादीको गन्ध बेसरी फैलिएको छ । आमै भन्छिन्, अर्गानिक साग ।

हामी उनलाई विषादीको प्रयोग घटाउन र कथंकदाचित छर्नैपरे पनि हातमा पञ्जा र मुखमा मास्क लगाएर विषादी छर्कनुपर्दछ भन्ने सिकाउन गएका हामीलाई उल्टै भर्खर विषादी हालेको साग झन्डै ख्वाइनन् ।
 
दोष आमाको होइन । उनले आफ्नो जवानीमा विषादी देखेकै थिइनन् । उनलाई पढेका कृषि विज्ञहरूले नै विषादीबारे सिकाएका हुन् । आमाजस्ता धेरै मानिसहरू अहिले पनि विषादीलाई दबाइका रूपमा अन्नपातमा प्रयोग गर्दछन् । अन्जान रूपमा आफू पनि मर्दछन् र सन्तानलाई पनि बिखुच्चा पारेका छन्  ।

हिजो विषादीलाई अचुक दबाइ भनेर सिकाउनेहरू नै आज हैट यो त कालको घोडा पो रहेछ, लु लु बन्द गरौँ भनेर तात्तिएका छन् तर मानिसको दिमागमा गढेको कुरो त्यति छिटै कहाँ निस्कन्छ र ? त्यति नै सजिलो भए २०२० सालमै लागू भएको मुलुकी ऐनले भेदभाव उहिल्यै अन्त्य गर्नुपर्दथ्यो । अझै पनि मानिस विभेदका सिकार भएका समाचार नछापिएको दिन शायदै कम होला ।
 
मानिसको व्यवहारमा परिवर्तन गर्नु त्यति सजिलो विषय होइन । मनोवैज्ञानिकहरूका अनुसार नकारात्मक विषयले मानिसको दिमागमा असर पार्न एक सेकेन्डको सय भागको एक भाग समय भए पुग्छ । तर सकारात्मक कुरो दिमागमा पस्न कम्तिमा पनि १२ सेकेन्ड लाग्दछ । फलानोले करेला लगाएर १० हजार कमाएछ भन्ने समाचार र फलाना र फलानीलाई रंगेहात पक्रिइयो भन्ने दुई समाचार सामाजिक सञ्जालमा राखेर हेरे पुगिहाल्छ । 

त्यसैले ती आमाजस्तै तपाईं हाम्रो विषादीलाई औषधिका रूपमा प्रयोग गर्ने बानी छुटाउन मापसे न्यूनीकरणका लागि नेपाल प्रहरीले गरेको झैँ हिम्मत चाहिन्छ । विषादी न्युनिकरणका लागि व्यापक जनचेतना जगाई व्यवहारमा परिवर्तन गर्ने लागि कडा कानून र त्यसको अझ कडा व्यवस्थापन हुनुपर्दछ । 

कस्तो छ त विषादीको बजार ?

विश्वमा वार्षिक साढे पाँच प्रतिशतका दरले विषादी प्रयोग बढ्दै गएको पर्सिस्टेन्ट मार्केट रिसर्चको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वमा करिब एक सय आठ अर्ब अमेरिकी डलर बराबरको विषादी प्रयोग भएकोमा १० वर्षमा बढेर करिब एक सय ८५ अर्ब अमेरिकी डलर पुग्ने आँकलन गरिएको छ । 

बिना विषादी खेती हुन्न ? 
हो, हुन्न भने पनि हुन्छ । हुँदै नहुने होइन तर निकै कम हुन्छ । पंक्तिकारकै करेसामा लगाइएका दुई बोट लहरे बालिमा लागेका करिब ५० चिचिला बीचमै कुहिए, कारण हो विषादी प्रयोग नहुनु । 

नजिकै रहेको सरकारी तरकारी विकास केन्द्रमा सम्पर्क गर्दा जैविक नै भए पनि विषादी त हाल्नै पर्छ भन्ने जवाफ आयो । दुई बोट लौकाका लागि कसले त्यत्रो खर्च गर्ने, बरु त मल नै पो बनाइयो ।  

यो तरकारीका विज्ञको मात्र भनाइ होइन । बिचरा उनले त जे पढे त्यही भनिदिने हुन् । संयुक्त राष्ट्र संघ पनि यसै भन्छ । विश्व खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदनलाई हेर्ने हो भने विषादी लगायतका कृषि सामग्रीको प्रयोगबाट खाद्यान्न उत्पादनमा २० देखि ५० प्रतिशतसम्मले वृद्धि भएको छ । 

किसानले विषादीमा गर्ने हरेक एक डलर लगानीले उसको कृषि उपजमा तीनदेखि चार डलर लाभ दिने अध्ययनहरूले देखाएका छन् । चीन, भारत तथा अमेरिका जस्ता ठूला मुलुकले विषादीको प्रयोगपछि मात्र खाद्यवस्तु निर्यात गर्ने अवसर पाएका हुन् । 

पर्सिस्टेन्टले नै गरेको एउटा अध्ययनमा भारतमा सन् १९६० को दशकमा जम्मा एक करोड मेट्रिक टन गहुँ उत्पादन हुन्थ्यो भने आज १० करोड मेट्रिक टन उत्पादन हुन्छ । 

विषादीले गर्छ चाहिँ के ?
संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू जस्तै एफएओ, विश्व स्वास्थ्य संगठन लगायतले गरे–गराएका अध्ययन अनुसार तथा विभिन्न विश्व विद्यालयले गरेका अध्ययनले विषादीको प्रयोगले मानिसको शरीरमा चार किसिमका हानि गर्दछ भन्ने तथ्य सार्वजनिक गरिएका छन् । क्यान्सर, इन्डोक्राइन ग्रन्थीमा समस्या, मष्तिष्कको कोषमा हानि र  मानिसको प्रजनन् क्षमतामा कमी आदि । 

यीमध्ये इन्डोक्राइन ग्रन्थीमा समस्या आउँदा यसको असर दर सन्तानमा पनि देखिन्छ भने मष्तिष्कको कोषमा हानि पुग्दा पार्किन्सन्स जस्ता असाध्य रोगको जोखिम बढ्छ । निःसन्तान हुनु र क्यान्सरसँग लड्नु त छँदैछ । 

विषादीको प्रयोगबाट सबैभन्दा बढी जोखिममा पर्ने वर्गमा किसान वा कृषि फार्ममा काम गर्ने कामदार, बालबालिका र गर्भवती पर्दछन् ।  

बन्द गरे के होला ?
संयुक्त राष्ट्र संघ नै के भन्छ भने आज विश्वको जनसंख्या आठ अर्ब नाघ्यो । 

सन् २०५० सम्ममा  जनसंख्या बढेर १० अर्बको हाराहारीमा पुग्दछ । यदि आजको दरमा मात्र खाद्यान्न उत्पादन भए विश्वको ६० प्रतिशत जनता भोकमरीको मारमा पर्छन् । 

उक्त जनसंख्याको छाक टार्न आजको दरमा खाद्यान्न उत्पादनमा ८० प्रतिशतले वृद्धि गर्नुपर्दछ ।
 
अनि रसायनको प्रयोग बन्द गरेर श्रीलंकाको हालतमा बस्ने त ? यो पनि भएन ।
 
गर्नुपर्छ के त ? 
जब विषादीविरुद्ध आवाज उठ्न थाले तब बाटोमा जताततै अर्गानिक तरकारी पसल, अर्गानिक मासु, अर्गानिक दूधका पसल भेटिन थाले । 

कोही कसैलाई यो भनेको के हो भनेर प्रश्न गर्ने फुर्सद छैन । कसैले चासो राखे पनि कसैले उत्तर दिने प्रयास गर्दैन । 

अर्गानिक खाद्य वस्तु सम्बन्धमा विश्वका विभिन्न मुलुकहरूले आ–आफ्नै व्यवस्था गरेका छन् । 

संयुक्त राज्य अमेरिकाको कृषि मन्त्रालयले तयार पारेको अर्गानिक मापदण्डले कुनै पनि खाद्य वस्तु अर्गानिक हुनका लागि गरेको कानूनी व्यवस्थाको सारांश यस्तो छः 

कृषिबालीको हकमा मापदण्डले प्रतिबन्धित गरेका वस्तुहरू कम्तीमा पनि तीन वर्षसम्म प्रयोग नभएको हुनुपर्ने तथा माटोको स्वास्थ्य सुधारका लागि बालीचक्र, सघन तथा घुसुवा बाली र प्राणी वा वनस्पतिजन्य पदार्थको प्रयोग हुनुपर्ने, 

रोग कीरा तथा झारपात आदिको नियन्त्रणका लागि मापदण्डले व्यवस्था गरे बमोजिम भौतिक, यान्त्रिक तथा जैविक प्रविधिको उपयोग हुनुपर्ने, बीउ भण्डारण सम्बन्धी आवश्यक व्यवस्थाका साथै अनुवांशिक प्रविधि तथा ओजोनिक रेडिएसन आदि प्रयोगमा प्रतिबन्ध,

मासुका लागि प्रयोग हुने ठूला जनावर कम्तीमा पनि एक सय २० दिनसम्म खुल्ला चरनमा चरेका हुनुपर्ने,

मासुका लागि प्रयोग हुने पन्छीहरू खुला चरनमा हुर्केका हुनुपर्ने, चल्ला काढेको दोस्रो दिनदेखि नै अर्गानिक मापदण्ड अनुरूप हुर्काएको हुनुपर्ने, खोप बाहेक अन्य कृत्रिम सिन्थेटिक्सको प्रयोगमा प्रतिबन्ध आदि ।

हामीले पनि यस्तै कुनै उपाय अवलम्बन गर्नैपर्दछ । हाल हामी गम्भीर त्रासदीमा बाँचेका छौँ । विषादी प्रयोग गरौँ, सन्तान नै सखाप हुने डर नगरौँ आफैँ मासिने डर । पछि रोग लाग्ला र मरिएला वा सन्तानसम्म पिर्ला भनेर खाली पेट बस्ने कि रोगै पालेर भए पनि बाँच्ने ?

यस्तो धारिलो बाटोमा हिँड्नु पर्ने भएकाले यसबारे गम्भीर रूपमा छलफल नगर्ने हो भने हामी धेरै दिन बाँच्दैनौँ । माटोमै जन्मेका हामी फेरि माटैमा बिलाउँछौँ । त्यसैले अब माटो स्वस्थ्य बनाउने उपायबारे चोकचोकमा बहस गरौँ । 

फलानाले फलानो संस्थाबाट यति खाएछ भन्नुभन्दा आफ्नो बारीको माटोबारे कुरा गरौँ । माटोमात्र राम्रो भए बिरुवा स्वस्थ्य बन्छ । स्वस्थ्य बिरुवालाई उति छिटो रोगले समात्दैन । 

रोग नलागे ती आमालेझैँ विषादी हाल्नु पर्दैन । त्यसैले आउनुहोस् हाम्रो माटो सुधारमा लागौँ । (नेपाली किसानको सिक्ने क्षमता विषयमा पोस्ट डक्टरल अनुसन्धानमा संलग्न पंक्तिकार हाल कर्णाली प्रदेश सरकारको अर्गानिक जोनिङ कार्यक्रमको टिम लिडरका रूपमा कार्यरत छन् । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ