arrow

के कुनै विशेष खानेकुराले शल्यक्रियापछिको घाउ पाक्छ ?

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ असार २२ शनिबार
kapilmani-kc-81-3-22.jpg

कुनै मुख्य शल्यक्रिया (अप्रेशन) गरिसकेपछि घाउ पाक्ने खतरा जहिले पनि हुन्छ । घाउ पाक्ने धेरै कारणहरू हुन्छन् । शल्यक्रिया गर्ने कोठा उपयुक्त नहुनु, शल्यक्रिया गर्ने सामानहरू राम्रोसँग सफा नहुनु, शल्यक्रिया कोठामा धेरै मानिसहरूको आवत जावत हुनु, बिरामीको रोगसँग लड्ने क्षमता कम हुनु, लामो समयसम्म स्टेरोइड औषधीको सेवन गर्ने, सुगरलगायत अरु थुप्रै रोगहरू जसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई कमजोर बनाउँछ । 

त्यस्ता बिरामीहरूलाई शल्यक्रिया गर्दा घाउ पाक्ने सम्भावना बढी हुन्छ । यद्यपि धेरै बिरामीहरूले घाउ पाक्ने र नपाक्ने भनेर मुख्य दोष खाने कुराहरूलाई दिएका हुन्छन् । 

के कुरा खाने वा नखाने भनेर धेरै नै चासो राख्ने गर्दछन् । विशेष गरी दुर्गम भेगमा बसोबास गर्ने मानिसहरूमा यो तथ्यले अझ बढी जरा गाडेको छ ।

बिरामीहरूका अनुसार माछा, मासुलगायत आलु, पिँडालु, गोलभेँडा, भान्टा, हरियो सागसब्जी, फलफूलले पनि घाउ पाक्न सक्छ भनेर यस्ता खाने चिजहरूबाट टाढा बस्ने कोसिस गर्छन् । 

वास्तवमा भन्ने हो भने यस्ता खाद्यवस्तुहरूले घाउलाई पाक्ने गराउनको सट्टा सन्चो बनाउन मद्दत गर्दछन् । तर जति सम्झाए पनि बिरामीहरू यो कुरालाई सहजै मान्न तयार छैनन् । उनीहरूले फगत दाल र भातमात्रै सेवन गर्ने गर्दछन् जसले गर्दा घाउ झन् ढिलो सन्चो हुने अवस्था आउँदछ ।

शल्यक्रिया गरेपछि प्रोटिनयुक्त खानेकुराहरू र हरियो सागसब्जी अतिनै उपयुक्त मानिन्छ । यदि कुनै विशेष खाने चीजहरूको एलर्जी छ भने त्यस्तो अवस्थामा ती खाने कुराहरू सेवन गर्नु हुँदैन । 

त्यो बाहेकको अवस्थामा कुनै पनि खाने कुराहरूले शल्यक्रियापछि घाउ पाक्ने सम्भावना हुँदैन । त्यसकारण निर्धक्क भएर शल्यक्रियापछि खान मिल्ने कुनै पनि चिजहरू बिरामीहरूले सेवन गर्न मिल्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ