arrow

व्यवस्थापन कमजोरी नै नेपाली आँप किसानको दुःख

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८१ असार २९ शनिबार
badri-ojha-81-3-29.jpg

देखाइएको आँप कालिमाटी फलफूल बजारबाट ल्याइएको हो । यसको भेट्नुमा दाग देखियो । काट्दा यसरी माथिल्लो भाग बिग्रिएको पाइयो । 

आँप टिप्ने सीपको कमीका कारण यस्तो भएको हो । यसले आँपको गुणस्तर त बिगार्छ नै, आँपको भण्डारण क्षमता पनि नष्ट गर्दछ । फलस्वरुप काँचै टिपिएको आँप पाक्दा भित्र बिग्रन्छ । 

कसरी यस्तो हुन्छ त ?
आँप टिप्दा हाँगैसहित अथवा आँप झुप्पैसहित टिप्नुपर्दछ । फलको भेट्नुबाट कम्तीमा पनि चारदेखि ६ इन्चमाथि हाँगा नै काट्नुपर्दछ । 

हातमा पञ्जा लगाउनै पर्दछ नत्र नङको दाग बस्दछ । भरसक हल्लाएर वा झटारोले हानेर वा अन्य कुनै किसिमले आँप टिप्नु पटक्कै हुँदैन । कथंकदाचित आँपको भेट्नु छिन्यो भने तुरुन्तै सफा गर्नुपर्दछ । 

यदि आँपको भेट्नुबाट चोप निस्केर फलमा बग्न पायो भने आँपको गुणस्तर सकियो । यही तस्बिरमा देखाएजस्तै गरी आँप बिग्रन्छ । 

अझ यस किसिमको आँप कोल्डस्टोरमा भण्डारण गरियो भने त अझ सखाप भैगो । 

आँपको बोटलाई सकेसम्म अग्लो हुन नदिनु नै सजिलो उपाय हो । विदेशतिर फलफूलका बोटलाई अग्लो हुन नदिन विभिन्न उपाय अपनाइन्छ । पुड्के प्रजातिको बिरुवा लगाइन्छ । 

त्यति गर्दा पनि अग्लो भए हाँगालाई भुइँतिर नुहाएर बाँधिन्छ । यो गर्नुको कारण फल टिप्न सजिलो होस् भन्ने हो । जब रुख अग्लो हुन्छ, फल टिप्न कठिन हुन्छ र फल नष्ट हुन्छ । 

अझ फल टिप्दा पनि कपडाका झोला प्रयोग गर्नुपर्दछ । टिपेर झोलामा राख्ने अनि हातले एक–एक गरेर झोलाबाट दाना निकालेर प्याकिङ गर्ने बाकसमा हाल्नुपर्दछ । यसो गर्न झन्झट मान्ने कामदारलाई आँप टिप्ने काम दिनुहुन्न ।
 
यसरी टिपेर तयार पारिएको आँपलाई ९ देखि १० डिग्री सेल्सियस तापक्रममा भण्डार गरे आँपको पकाइ हेरी २५ दिनसम्म भण्डारण गर्न सकिन्छ । 

पाकेको भए १८ देखि २१ दिन र अलि काँचो भए २३ देखि २६ दिनसम्म भण्डारण गर्न सकिने अध्ययनहरुले देखाएका छन् । तर अलि काँचो टिपेर ५.५ डिग्री तापक्रम भएको शितभण्डारमा राखे केही लामो समयसम्म पनि टिकाउन सकिन्छ । 

पाकेको आँपलाई तासेर टुक्रा पारेर शितभण्डारमा राख्दा वर्ष दिनसम्म पनि टिकाउन सकिन्छ । तर यसका लागि निकै सीप चाहिन्छ । 

हाम्रो देशको तल्लो पहाड र तराईमा आँप फल्छ । मधेस प्रदेशका आठ जिल्ला आँपका लागि प्रख्यात मानिन्छन् । त्यसमा पनि सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रमा उत्पादन भएको आँपलाई नेपाल र उत्तरी भारतमा उत्कृष्ट आँप मानिन्छ । 

नेपालमा ४० देखि ४५ हजार हेक्टर जमीनमा आँप खेती गरी बर्सेनि तीनदेखि साढे तीन लाख मेट्रिक टन आँप उत्पादन भएको तथ्यांक छ । 

यसरी हेर्दा हाम्रो देशमा एक हेक्टर जमीनमा ६ देखि आठ टन आँप पलेको पाइन्छ । अरु देशमा खास गरी थाइल्यान्ड र मेक्सिकोमा हेक्टरको १५ टनसम्म फलेका तथ्यांक छन् । 

कुरो उही हो, स्याहार सुसार, मलजल र राम्रो बिउ अनि जलवायु आदिको प्रभाव । 

यस वर्ष विश्वमा ६० अर्ब अमेरिकी डलर बराबरको आँप खपत हुने अनुमान छ । 

गत वर्षको तथ्यांक हेर्ने हो भने विश्वमा सबैभन्दा बढी आँप भारतले उत्पादन गर्दछ । 

यसले विश्व बजारमा आँपको ४० प्रतिशत हिस्सा ओगट्छ ।  सन् २०२४ को पहिलो पाँच महिनामा भारतले करिब ४८ करोड डलरको आँप निकासी गरेको तथ्यांक छ । 

भारतमा आँपको सरदर मूल्य किलोको ३५ रुपैयाँ पर्दछ । कुनै सिजनमा सस्तो त कुनैमा महँगो पर्छ । 

नेपालमा गत जुन (जेठ १५ देखि असार १५ सम्म) महिनाको अध्ययनले सरदर मूल्य एक सय तीन रुपैयाँदेखि एक सय ९५ रुपैयाँसम्म परेको तथ्यांक छ । 

तर जब नेपालको आँप बजार आयो, भाउ ह्वात्तै घट्यो । हाल सरदर मूल्य ६५ मात्र छ । 

आँपबाट २४ किसिमका खाद्य वस्तु निर्माण गर्न सकिन्छ र ती वस्तु ताजा आँपका तुलनामा निकै महँगो पर्दछन् । हाम्रा किसानले उत्पादन गरेको आँप भने बोटबाट सरदर २० रुपैयाँ केजीका दरले बिक्री हुन्छ । नेपालबाट सस्तोमा आँप लगेर बिहारमा पल्प बनाएर सोही पल्प नेपालकै जुस उद्योगमा बेचिन्छ । 

मधेस प्रदेश सरकारले गत आर्थिक वर्षदेखि नै पल्प उद्योगका लागि बजेट छुट्याए पनि अझै उक्त बजेट कार्यान्वयनमा आउन सकेको छैन । 

पल्प उद्योगका लागि उति ठूलो लगानी लाग्दैन । सन् २०१७ मा विश्वमा एक अर्ब अमेरिकी डलर बराबरको म्यांगो पल्पको बजार थियो भने वार्षिक सरदर नौ प्रतिशतका दरले बजार वृद्धि भई सन् २०२६ मा दुई अर्ब डलर नाघ्ने आँकलन गरिएको छ । 

यसको ३७ प्रतिशत हिस्सा दक्षिण पूर्वी एसियालै नै ओगट्छ । यस अर्थमा पल्प उद्योग नाफामूलक मानिन्छ । 

विश्वमा उपभोग गरिने फलफूलमध्ये आँप सातौँ लोकप्रिय फलमा पर्दछ । 

मालदह, दशहरी र बम्बै नेपालमा पाइने लोकप्रिय आँप हुन् । बजारमा अल्फान्सो आँप पनि पाइन्छ, जुन निकै महँगो पर्दछ । 
विश्व बजारमा पाइने महँगा आँप भने नेपालमा खासै पाइँदैन । विश्वमा सबैभन्दा महँगो आँप जापानको मियाजाकी टापुमा उत्पादन हुन्छ । 

यसको सरदर मूल्य गोटाको ५० अमेरिकी डलर पर्छ । त्यसो त जोडीको तीन लाखसम्ममा पनि मियाजाकी आँप बिक्री नभएको होइन ।

दोस्रो महँगो आँप पाकिस्तान र अफगानिस्तानमा उत्पादन हुन्छ । यसलाई मालिका वा नुरजाँ आँप भनिन्छ । यसको मूल्य पनि १२ देखि २४ डलरसम्म पर्दछ । 

तेस्रो महँगो आँप पाकिस्तानको सिन्ध्री आँप हो जो चारसय देखि पाँच सय ग्रामको हुन्छ । यसको दाम पनि केजीको आठ डलर पर्दछ । 

चौथो महँगो आँप तोतापूरी आँप हो यो आधा केजीदेखि सात सय ५० ग्रामसम्मको हुन्छ र केजीको सात अमेरिकी डलर पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ