पहिरो पीडितहरू प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
593
Shares
काठमाडौँ। आज राष्ट्रिय एकता अभियान, काठमाडौँले वीरगन्जबाट काठमाडौँ र काठमाडौँबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि २ मिनेटको मौन धारण गरियो।
कार्यक्रम आज बेलुकी ६:०० बजे, न्यौपाने टावरको अगाडि तीनकुने, काठमाडौँमा सम्पन्न भयो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, वरिष्ठ नेता बिपी यादव लगायत १५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बिपी यादवले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
उनले घटनापछि ६ दिन बित्दा पनि खोजी कार्य पूरा हुन नसकेको राज्यको दुर्भाग्य भएको बताउँदै, त्रिशूलीमा यति धेरै व्यक्तिको ज्यान गुमाएको दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्नेमा सरकार र नेताहरू कुर्सीको भागबन्डामा व्यस्त भएको आरोप लगाए। साथै, वर्तमानका नेताहरूबाट लोकतन्त्र, संविधान र राज्य सुरक्षित नहुने ठोकुवा समेत गरे।