नेपालले विश्वकपमा बनाएको प्रत्येक रनको रकम वाइवाइले दियो क्यानलाई [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
828
Shares
काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।
आईसीसी टी–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाली राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।
त्यसैगरी प्रत्येक विकेटका लागि रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।
त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू. ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो ।
सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि रू. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू. ५६ हजार थप गरी हस्तान्तरण गरिएको हो ।
बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहबीच सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
उक्त अवसरमा बोल्दै सीईओ पुडासैनीले टी–२० विश्वकपमा सहभागी राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए ।
‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ । अहिले हाम्रो राष्ट्रिय टिम टी–२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धि मान्छु’, पुडासैनीले भने, ‘निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधिसहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ ।’
चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि उनले दिए ।
उक्त अवसरमा बोल्दै क्यानका सचिव खड्काले नेपालीे क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुर्याउँदै आएको योगदान उच्च रहेको बताए ।
वाइवाइले प्रायोजन गरेको यू–१९ प्रतियोगितामा आफूले वाइ वाइको जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका खड्काले स्मरण गरे ।
नेपाल आईसीसी टी–२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला यू–१९ क्रिकेट टिमलाईसमेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि रू.३० लाख गरी जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ ।
उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ ।
यसैगरी वाइवाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ‘प्रेडिक्ट एन्ड विन कन्टेस्ट’ सञ्चालन गरेको थियो ।
जस अन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः रू. १ लाख, रू. ५० हजार, रू. २५ हजार तथा टुर्नामेन्ट प्रेडिक्टअन्तर्गत ४ जना प्रत्येक विजेतालाई रू. १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको छ ।