arrow

एसिया कप महिला क्रिकेट

एसिया कप क्रिकेटमा नेपालको शानदार शुरुआत, यूएईमाथि ६ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
asia-cup-women-samjhana-khadka-nep-uae.jpg
तस्बिर – कीर्तिमानी अर्धशतक बनाउँदै सम्झना खड्का ।

काठमाडौँ । श्रीलंकाको दाम्बुलामा शुरु भएको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले शानदार शुरुआत गरेको छ । 

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । उनी एसिया कपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । 

दुई खेलाडी रनआउट भएका थिए । 

आठ टिम सहभागी प्रतियोगिताको समूह ए मा नेपाल र यूएईसँगै भारत र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र थाइल्याण्ड रहेका छन् । शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

नेपालले आफ्नो दोस्रो खेलमा आइतबार बेलुकी पाकिस्तानसँग खेल्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ