arrow

एसिया कप महिला क्रिकेट

नेपालले पाकिस्तानलाई दियो १०९ रनको चुनौती  

नेपालले पाकिस्तानलाई हराए पहिलो पटक सेमिफाइनलमा पुग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
asia-cup-women-nep-24-7-21.jpg

काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले अहिले पाकिस्तानसँग खेलिरहेको छ । 

जितका लागि नेपालले १०९ रनको सामान्य चुनौती दिएको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । 

नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् । दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए ।

त्यस्तै कविता कुँवर १३ बलमा १३, रबिना क्षेत्री १४ बलमा ८, सम्झना खड्काले ५ बलमा ४ तथा कप्तान इन्दू बर्मा शून्यमा आउट भइन् । 

पाकिस्तानका लागि सदिआ इक्वालले २ विकेट लिइन् । 

यसअघि पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको नेपालले आजको खेलमा पाकिस्तानलाई हराए एक खेलअघि नै पहिलो पटक एसिया कपको सेमिफाइनलमा पुग्ने कीर्तिमान बनाउने छ । 

नेपाल विजयी भए भारत पनि एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । नेपालले जित हाासिल गर्दा पाकिस्तान एक खेलअघि नै बाहिरिने छ । यूएई लगातार दुई हारसहित बाहिरिएको छ । 

पहिलो खेलमा नेपालसँग पराजित यूएई दोस्रो खेलमा आज भारतसँग पराजित भयो । 

यता पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत दोस्रो खेलमा यूएईलाई ७८ रनले हराएसँगै सेमिफाइनल नजिक पुगेको छ । 

पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २०१ रन बनायो । कप्तान हर्मनप्रित कौरले ४७ बलमा ६६ तथा रिचा घोषले २९ बलमा अविजित रहँदै ६४ रन बनाइन् । काभिशा एगोडेजले २ विकेट लिइन् । 

जवाफमा यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन बनायो । अलराउन्डर काभिशाले ३२ बलमा अविजित रहँदै ४० रन जोडिन् । दिप्ती शर्माले २ विकेट लिइन् । 

लगातार दुई हारसहित यूएई सेमिफाइनलको होडबाट बाहिरिएको छ । 

समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेल्दैछन् । त्यस्तै पाकिस्तानले यूएईसँग खेल्नेछ । सेमिफाइनलको सम्भावना जीवितै राख्न पाकिस्तानलाई आज जित्नैपर्ने दबाब छ । 

यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । 

दुई खेलाडी रनआउट भएका थिए । 

आठ टिम सहभागी प्रतियोगिताको समूह ए मा नेपाल र यूएईसँगै भारत र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र थाइल्याण्ड रहेका छन् । शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ