arrow

एसिया कप महिला क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालको कमजोर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
asia-cup-women-nep-pak1-24.jpg

काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसँग कमजोर प्रदर्शन गरेको छ । 

नेपाल ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १०९ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा गुल फेरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलीले ३४ बलमा अविजित रहँदै ४६ रन जोडिन् । 

नेपालका लागि कविता जोशीले विकेट लिइन् । त्यसबाहेक सबै खेलाडी महँगा सावित भए । 

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । 

नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् ।

दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए । त्यस्तै कविता कुँवर १३ बलमा १३, रबिना क्षेत्री १४ बलमा ८, सम्झना खड्काले ५ बलमा ४ तथा कप्तान इन्दू बर्मा शून्यमा आउट भइन् । 

पाकिस्तानका लागि सदिआ इक्वालले २ विकेट लिइन् । 

यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । 

समूहको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नेछ । जसका कारण नेपालको सेमिफाइनल सम्भावना कठिन बनेको छ । 

नेपालले भारतलाई हराउँदासमेत पनि रन रेटमा नेपाल पछाडि पर्न सक्छ । 

अर्कातर्फ पाकिस्तान जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ । पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानले अन्तिम खेलमा यूएईसँग खेल्नेछ । 

यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । 

दुई खेलाडी रनआउट भएका थिए । 

आठ टिम सहभागी प्रतियोगिताको समूह ए मा नेपाल र यूएईसँगै भारत र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र थाइल्याण्ड रहेका छन् । शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ