arrow

पर्यटक लोभ्याउँदै ‘बीपी-पुष्पलाल वाटिका’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
puspalal-smriti-park.jpg

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बीपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् ।

वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ ।

विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बीपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए ।

प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए ।

विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए ।

मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउँछन् ।

‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,’ उनी भन्छन्, ‘हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौँ, त्यहाँ घुमेर फोटो खिच्छन्, टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।’

वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिए । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ