arrow

आईजीपीले ‘एक जना डीआईजी सा’ब फस्न लागेको’ बताएसँगै पोखरेललाई कारबाहीको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
dig-yagyabinod-pokharel.jpg

काठमाडौँ । केही दिनअघि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रुपन्देहीमा आयोजित एक कार्यक्रममा ‘एक जना डीआईजी सा’ब फस्न लागेको’ बताउँदै गर्दा मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । असोजमा घर जान लागेका डीआईजी पोखरेलका केही घुमुवालाई काठमाडौँ तानेर अनुसन्धान गरेपछि कारबाहीको तयारी थालिएको हो । 

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नजिक सम्बन्ध बनाएर मधेस प्रदेश पुगेका पोखरेलले घुमुवा खटाएर तस्करीको लाइन खुला गराएको उजुरी प्रहरी महानिरीक्षकको सचिवालयमा परेको थियो । त्यसकै आधारमा छानबिन हुँदै जाँदा कारबाही गर्नुपर्ने अवस्थामा पुगेको स्रोतको दाबी छ ।

केही दिनअघि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कठोर बन्नुपर्ने परिस्थिति आएको जिकिर गर्दै डीआईजी कारबाही गर्न लागेको संकेत गरेका थिए । 

‘तपाईंहरुले बुझ्नुपर्छ, तपाईंहरुको कागज चेक गर्दैछौँ’, उनले भने ‘ममात्र भन्नुस्, तपाईंको परिवार, तपाईंहरुको खाता, तपाईंहरुको साथी समेतको खाता चेक गर्दैछौँ ।’ अनियमितताविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुने जिकिर गर्दै उनले यस्तो बताएका थिए । महानिरीक्षकको यो अभिव्यक्तिप्रति प्रहरी संगठनभित्र बहस भइरहेको अवस्थामा डीआईजी पोखरेल फन्दामा परेका हुन् । 

‘प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको एक उजुरीमाथि जाँच गर्ने क्रममा डीआईजी पोखरेलबारे पनि अनुसन्धान भएको थियो’, प्रहरी उच्च स्रोतले ‘त्यसक्रममा केही विषयमा डीआईजी सा’बको कैफियत देखिएको छ ।’

डीआईजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौली जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेपछि थप प्रमाणहरु फेला परेको बताइएको छ । 

पक्राउ परेका कर्णले डीआईजीको नाममा तस्करहरुसँग पैसा उठाउने र बुझाउने गर्दथे । यद्यपि डीआईजी पोखरेलले भने आफ्नो खातामा आएको रकम घुसको नभई छोरालाई विदेश पठाउन सापट मागेको दाबी गरेका छन् । 

केही दिनअघि नै उनलाई पक्राउ गर्न खोजिए पनि स्थानीयले अवरोध गरेका थिए । पोखरेलले विभिन्न नाकामा घुमुवा राखेर पैसा उठाएकोसमेत पुष्टि भएको छ । 

उनले खटाएका घुमुवाहरू सई चन्द्रप्रसाद यादव, असई उपेन्द्रप्रसाद यादव, वरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, बृजेश मुखिया, शैलेन्द्रप्रसाद कुर्मी, सहायक हवल्दार अशोककुमार यादव, ईश्वर अच्छामी, मुकुन्द शर्मा र जवान सतेशलाल कायस्थलाई उजुरी छानबिन शाखाले गणमा राखेर छानविन गरिरहेको स्रोतले जनाएको छ ।

आफूलाई नेपाली कांग्रेस निकट रहेको बताउने डीआईजी पोखरेल पछिल्लो पटक तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट भएका थिए । 

माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेललाई दाजु नाता लगाएका डीआईजीलाई मधेश प्रदेश पठाइएको थियो । डीआईजी पोखरेलका आफन्त पर्ने एक जना पूर्व एसएसपीले तस्करीको लाइन खुलाउने र उठाउने काम गरिरहेको स्रोतले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ