arrow

एसिया कपमा नेपालले भारतसँग खेल्दै, यसरी पुग्न सक्छ नेपाल सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
asia-cup-women-nepal-indiay.jpg

काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे शुरु हुनेछ । 

यो खेल जितेका खण्डमा मात्रै नेपालले सेमिफाइनलको यात्रा तय गर्न सक्छ । नेपालले दोस्रो खेलमा पाकिस्तानसँग कमजोर प्रदर्शन गरेसँगै सेमिफाइनल सम्भावना कमजोर बनेको हो । 

नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १०९ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा गुल फेरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलीले ३४ बलमा अविजित रहँदै ४६ रन जोडिन् । 

नेपालका लागि कविता जोशीले विकेट लिइन् । त्यसबाहेक सबै खेलाडी महँगा सावित भए । 

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् । दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए । 

यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । 

कसरी पुग्नसक्छ नेपाल सेमिफाइनलमा ? 
नेपाल सेमिफाइनलमा पुग्नका लागि नेपालले भारतलाई हराएरमात्र पुग्नेछैन यसअघिको पाकिस्तान र यूएईबीचको खेलमा यूएई विजयी हुनुपर्नेछ । 

यूएई सबैभन्दा कमजोर टिम हो । यो अवस्थामा यूएईले पाकिस्तानलाई हराउने सम्भावना कम छ । 

यद्यपि यूएईले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेका खण्डमा मात्रै नेपालको सम्भावना हुन सक्छ । 

त्यसका लागि नेपालले भारतलाई हराउनै पर्छ । भारतलाई हराउन नसकेका खण्डमा पाकिस्तानलाई यूएईले हराए पनि रन रेटमा पाकिस्तान अगाडि हुन सक्छ । 

रन रेटमा हेर्ने हो भने भारत २ खेलमा ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । उसको ३.३८६ रेट रन रेट रहेको छ । 

भारत नेपालसँग पराजित भए पनि उसको सेमिफाइनल सम्भावना निश्चित छ । किनकि नेपालले भारतलाई हराए पनि भारतको रनरेटलाई भेटाउन सक्दैन । 

अर्कातर्फ पाकिस्तानको २ खेलमा २ अंक छ । उसको नेट रन रेट ०.४०९ रहेको छ । नेपालको २ खेलमा २ अंक छ र नेट रन रेट माइनस ०.८१९ छ । 

त्यस्तै पुछारको यूएईको २ खेलमा कुनै अंक छैन र नेट रन रेट माइनस २.८७० छ । 

यसरी कायापलटको परिणाम ल्याउँदै नेपालले भारतलाई र यूएईले पाकिस्तानलाई हराएमात्र नेपाल सेमिफाइनलमा पुग्न सक्छ । 

अन्यथा नेपालको सम्भावना निकै कम छ । पाकिस्तान र यूएई दिउँसो २ः१५ बजे खेल्नेछन् । 

समूह बीबाट ४ अंकसहित श्रीलंका सेमिफाइनलमा पुगिसकेको छ भने २–२ अंकका थाइल्याण्ड र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । 

यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । 

दुई खेलाडी रनआउट भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ