- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेलिरहेको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ ।
यो खेलमा विशाल जित हासिल गरेका खण्डमा मात्रै नेपालले सेमिफाइनलको यात्रा तय गर्न सक्छ । नेपालले १० ओभरभित्र जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ ।
पाकिस्तानले आजको खेलमा यूएईलाई १० विकेटले पराजित गरेसँगै रन रेट निकै राम्रो बनाएकाले नेपालले भारतमाथि सामान्य जित हासिल गर्दासमेत कुनै फरक पर्ने छैन ।
यसअघि नेपालले दोस्रो खेलमा पाकिस्तानसँग कमजोर प्रदर्शन गरेसँगै सेमिफाइनल सम्भावना लगभग सकिएको थियो । आजको खेलमा यूएईले पाकिस्तानलाई हराएको भए नेपालको सामान्य जितले पनि नेपाल सेमिफाइनलमा पुग्ने थियो ।
सबै खेलमा हार बेहोरेको यूएई बाहिरिएको छ भने यूएईमाथि ६ विकेटको जित हासिल गरेको नेपालको अझै झिनो सम्भावना बाँकी नै छ ।
भारत २ खेलबाट ४ अंकसहित पहिलो पाकिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो तथा नेपाल २ अंकसहित तेस्रो स्थानमा छ ।
नेपाल र पाकिस्तानको खेल
नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १०९ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो ।
पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा गुल फेरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलीले ३४ बलमा अविजित रहँदै ४६ रन जोडिन् ।
नेपालका लागि कविता जोशीले विकेट लिइन् । त्यसबाहेक सबै खेलाडी महँगा सावित भए ।
यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् । दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए ।
यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
समूह बीबाट ४ अंकसहित श्रीलंका सेमिफाइनलमा पुगिसकेको छ भने २–२ अंकका थाइल्याण्ड र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।
यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् ।
त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।
यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो ।
यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए ।
पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए ।
दुई खेलाडी रनआउट भएका थिए ।