arrow

एसिया कप महिला क्रिकेट

नेपाललाई भारतले दियो १७९ रनको चुनौती, नेपालको सेमिफाइनल सम्भावना असम्भव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
asia-cup-women-nep-ind-tt.jpg

काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेलिरहेको छ । जितका लागि नेपालले १७९ रनको चुनौती पछ्याउँदैछ । 

नेपालले १० ओभरभित्र यो चुनौती पूरा गरेमात्र सेमिफाइनलमा प्रवेश गर्ने भएकाले नेपालको सम्भावना असम्भव नै देखिएको छ । 

यसअघि खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १७८ रन बनायो । 

पहिलो विकेटका लागि १२२ रनको साझेदारी गर्ने क्रममा ओपनर शफाली वर्माले ४८ बलमा ८१ तथा दयालान हेमलथाले ४२ बलमा ४७ रन बनाइन् । 

नेपालका लागि सीता रानामगरले २ तथा कविता जोशीले १ विकेट लिइन् । 

पाकिस्तानले आजको खेलमा यूएईलाई १० विकेटले पराजित गरेसँगै रन रेट निकै राम्रो बनाएकाले नेपालले भारतमाथि सामान्य जित हासिल गर्दासमेत कुनै फरक पर्ने छैन । 

यसअघि नेपालले दोस्रो खेलमा पाकिस्तानसँग कमजोर प्रदर्शन गरेसँगै सेमिफाइनल सम्भावना लगभग सकिएको थियो । आजको खेलमा यूएईले पाकिस्तानलाई हराएको भए नेपालको सामान्य जितले पनि नेपाल सेमिफाइनलमा पुग्ने थियो । 

सबै खेलमा हार बेहोरेको यूएई बाहिरिएको छ भने यूएईमाथि ६ विकेटको जित हासिल गरेको नेपालको अझै झिनो सम्भावना बाँकी नै छ । 

भारत २ खेलबाट ४ अंकसहित पहिलो पाकिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो तथा नेपाल २ अंकसहित तेस्रो स्थानमा छ । 

 नेपाल र पाकिस्तानको खेल
नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १०९ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा गुल फेरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलीले ३४ बलमा अविजित रहँदै ४६ रन जोडिन् । 

नेपालका लागि कविता जोशीले विकेट लिइन् । त्यसबाहेक सबै खेलाडी महँगा सावित भए । 

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् । दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए । 

यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । 

समूह बीबाट ४ अंकसहित श्रीलंका सेमिफाइनलमा पुगिसकेको छ भने २–२ अंकका थाइल्याण्ड र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । 

यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । 

दुई खेलाडी रनआउट भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ