arrow

एसिया कप जस्तो प्रतियोगिता खेल्न धेरै पक्षमा सुधार गर्नु पर्छ – इन्दू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
indu-barma-captain-nepali-c.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले एसिया कप जस्तो ठूलो प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छिन् ।

श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर समूह चरणबाटै बाहिरिएपछि बिहीबार स्वदेश फर्कने क्रममा कप्तान इन्दूले भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औंल्याइन् । 

एसिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताइन् । 

महिला ट्वान्टी–२० एसिया कपमा सहभागीता जनाएको नेपाली क्रिकेट टोली  बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्यसचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गरेका थिए । 

प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको थियो ।
 
एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । जसरी नै यूएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दूले बताइन् । 

पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनरूप हुन नसकेको उनको भनाइ छ । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दूको विश्वास छ । 

नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो । नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो । तर फ्लड लाइटका कारण धेरै समस्या नभएको इन्दूले बताइन् । 

भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्नेलगायत धेरै कुरा पनि सिकेर आएको उनले बताइन् । 

तेस्रो पटक एसिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूह चरण पार गर्न सकेन । एसिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ