- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिम उच्च रहेको जिल्ला हो । बर्सेनि विपदजन्य घटनाहरुबाट लाखौँ रुपैयाँको क्षति हुने गर्दछ । खासगरी मनसुनजन्य विपदहरुबाट सिन्धुपाल्चोक जिल्ला व्यापक क्षति हुने गरेको छ ।
२०७८ सालको मेलम्ची बाढी पश्चातका वर्षहरुमा बाढी तथा पहिरोले व्यापक असर पुर्याएको छ । विपदको क्षतिलाई न्यून गर्नको लागि मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा बाढी तथा पहिरोमा आधारित पूर्वसूचना प्रणाली विकास हुँदैछ ।
मानवीय क्षति रोक्न तथा धन सम्पत्तिको रक्षाको लागि पूर्वसूचना प्रणालीले अहम् भूमिका रहेको हुन्छ । बाढी तथा पहिरोमा आधारित पूर्वसूचना प्रणालीको विकास सिन्धुपाल्चोक जिल्लाका अन्य पालिकाहरु तथा देशको अन्य जोखिमयुक्त स्थानहरुमा विकास गर्न सकिएमा जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।
जोखिम कम गर्ने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयदेखि राष्ट्रिय तहका सरोकारवाला निकायहरुबीच पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणको नीति नियम तथा योजनाहरुको सुदृढीकरणको लागि अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सहभागी तथा अतिथीहरुलाई स्वागत तथा कार्यक्रम बारे प्रस्टता सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् फोकल व्यक्ति जितबहादुर भण्डारीले गरेका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधि सभा सदस्यहरु मोहनबहादुर बस्नेत (क्षेत्र नम्बर २), माधव सापकोटा ‘सुबोध’ (क्षेत्र नम्बर १),आन्तरिक मामिला तथा कानून मन्त्री सुरेशचन्द्र लामिछाने, बागमती प्रदेशका सदस्यहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कृष्णबहादुर तामाङ, माइली तामाङ, कुमारी तामाङको उपस्थिति थियो ।
साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला स्तरीय क्लस्टर प्रमुखहरु, स्थानीय पालिका प्रमुख तथा उपप्रमुखहरु, वडा अध्यक्षहरु, विपद फोकल व्यक्तिहरु, उद्योग वाणिज्य सङ्घ, सामुदायिक विपद व्यवस्थापन समितिका सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्वसूचना र विपद् विज्ञहरु, जल तथा मौसम विज्ञान विभागको मौसम विज्ञकोसमेत प्राविधिक प्रस्तुति रहेको थियो ।
पुल्चोक इन्जिनिरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डा. बसन्त राज अधिकारीले सिन्धुपाल्चोकको विपद जोखिम र भौगर्भिक अध्ययनको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
२०७२ सालको भूकम्पछि जमीन र माटो खुकुलो भएको र वर्षाद भएपछि पहिरो र बाढी जान सक्ने सम्भावना उच्च रहेको बताए । विपद् सम्बन्धी नीति नियम र योजना कार्यान्वयन गर्दा भौगर्भिक अध्ययन पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र चीनका भूभागहरुसँग जोडिएको र ती क्षेत्रहरुसमेत उच्च जोखिम अवस्थामा रहेको हुँदा अन्तरदेशीय प्रकोपका बारेमा अध्ययन गर्नुपर्ने बताए ।
नेपालको सन्दर्भमा ६० प्रतिशत पहिरो प्राविधिक अध्ययन बिना जथाभावी तवरले निर्माण गरिएको सडकको कारणले हुने गरेको प्रतिवेदनको निष्कर्ष रहेको बताए ।
जोखिमयुक्त स्थानहरुमा बस्ती निर्माण गरिएको र न्यूनतम प्राविधिक ज्ञान र प्रविधिको प्रयोग नहुँदा विपदको घटना र क्षति हुने गरेको बताए ।
अध्ययन र अनुसन्धानबाट पहिरो जाने स्थानहरु पत्ता लगाउने प्रविधि र भू–उपग्रहका सूचनाहरु लिन सकिए पनि सही प्रयोग र लाभ लिन नसकिएको बताए ।
भौतिक निर्माण गर्दा विपदका घटनाहरु हुन सक्ने अवस्था विशेष ख्याल राख्नु पर्ने उनले बताए ।
कार्यक्रममा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले अहिले बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर नेपालमा रहेको र जैविक विविधता, खाद्यसुरक्षा, कृषि क्षेत्रमा ठूलो असर पारेको बताए । नेपालको अवस्थालाई हेर्ने हो भने विपद् हुनुको मुख्य कारण जलवायु परिवर्तन रहेको बताए ।
विपद्को पूर्वतयारी तथा प्रतिकार्यको लागि, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र, प्रदेश आपतकालीन कार्यसंचालन केन्द्र, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायहरुको ठूलो भूमिका रहने कुरालाई जोड दिए ।
प्राक्टिकल एक्सनले पूर्वसूचना प्रणालीमा नेपालमा विगत २० वर्षदेखि कार्य गरी रहेको र सिन्धुपाल्चोकमा बहुप्रकोपमा काम गरिरहेको जानकारी दिए ।
२४ घन्टा आगाडि प्राप्त हुने पूर्वसूचनाले विपदको क्षतिलाई ३० प्रतिशतसम्म कम गर्न सकिने र पूर्वसूचना प्रणालीसँग विपद् जोखिम न्यूनीकरणको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताए ।
जलवायु परिवर्तनको कारणले गर्दा हानि तथा नोक्सानी बढिरहेको भन्दै पूर्वसूचनाको भूमिका अहम् रहेको हुँदा विशेष प्राथमिकतामा राख्नुपर्ने जानकारी दिए ।
प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट पुर्णबहादुर दर्जी (सचिव, आन्तरिक मामिला तथा कानून मन्त्री) ले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि गरेका कार्यहरुको प्रस्तुति गरेका थिए ।
प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका योजनाहरु समावेश गरी स्थानीय पालिकाहरुलाई सहयोग गरेको तर बजेट पर्याप्त नभएको स्वीकार गरे ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् जोसन महर्जनले विभागले गरिरहेका कार्यहरुको जानकारी गराए । विशेष गरी मौसम पूर्वानुमान, पूर्वसूचना प्रणाली, बाढी पुर्वानुमान, प्रभावमा आधारित पूर्वानुमान र जोखिम सन्चारको महत्वबारे प्रस्ट पारे ।
सिन्धुपाल्चोकको अधिकांश क्षेत्र बाढी एवम् पहिरोको उच्च जोखिममा रहेकोले त्यसको वैज्ञानिक अध्ययन गरि क्षती न्यूनीकरणको लागि पुर्वतयारी गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।