- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अर्काको देखासिकी गरेर आफ्ना मूल्य मान्यतालाई तिलाञ्जली दिँदैजाँदा हामीले आफ्नो पाइताला के मा अडिएको छ भन्ने बिर्सँदै गयौँ । संस्कृतिमा भएको क्षयीकरणले हामीलाई सांस्कृतिक धरोहरहरु गुमाउन बाध्य मात्र पारेन, अरुले सिकाएका शब्दलाई हाम्रोकरण गर्दा आफ्नोपन हराउँदै गयो । यसले स्थानीय भाषा, रैथाने ज्ञान र संस्कतिलाई मेटायो । यसबाट स्थानीय माटोसँग जोडिएका सांस्कृतिक प्रचलन बन्द भए ।
विस्तारै हामी संस्कृतिलाई कमोडिफिकेसन गर्दै जान बाध्य भयौँ । अहिले हामी हाम्रा मूल्य, मान्यता र संस्कृतिलाई व्यापारीकरण गर्न बाध्य भएका छौँ । अहिले हाम्रा मूल्य मान्यताहरु आफ्नो अमूल्य अर्थ गुमाई सामान्य व्यापारिक संकेत बनेका छन् ।
आउनुहोस् हामीसँग ज्ञानको कस्तो भण्डार थियो र त्यसलाई हामीले कसरी गुमायौँ भन्ने एउटा उदाहरण हेरौँ । अस्ट्रेलियाको मेलबर्नमा सन् १९१० मा जन्मेका आइन्जली मियर्सले आफ्ना बुबाले झैँ चिकित्सा शास्त्र अध्ययन गरे । स्थानीय मेलबर्न विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक गरेपछि उनले सैनिक अस्पतालमा काम शुरु गरे ।
युद्धमा घाइते भएका सैनिकको उपचार गर्दा उनलाई घाइतेमा देखिएको पीडा, विरक्ती र कुण्ठाले मनोचिकित्सक बन्ने अवसर दियो । उनले मनोचिकित्सा क्षेत्रमा उच्च अध्ययन गरे ।
डा. मियर्सले दोस्रो विश्वयुद्धमा घाइते भएका सैनिकहरुलाई उपचार गर्दै गए । त्यतिबेला अस्ट्रेलिया बेलायतकै भूमि थियो । त्यतिबेला उपलब्ध मनोविश्लेषण, विद्युतीय झट्का दिएर गरिने उपचार र औषधि प्रयोग गरेर गरिने उपचार पद्धतिले मानसिक समस्याबाट मुक्ति मिल्ने कुरामा उनलाई शंका लाग्न थाल्यो । उनले उपचारका क्रममा तत्काल उपलब्ध पद्धतिबाहेक विभिन्न तरिका अपनाउन थाले ।
उनले बिरामीमाथि क्लिनिकल हिप्नोसिस विधि प्रयोग गरे । यस तौरतरिकाबाट बिरामीको मानसपटलमा गढेको पीडा विस्तारै कम हुँदै गएको र बिरामीको शरीरले प्राकृतिक रुपमै आफूलाई उपचार गर्दै गरेको कुरा पत्ता लगाए ।
त्यसपछि डा. मियर्सले विश्वका विभिन्न देशको भ्रमण गरेर त्यहाँ अभ्यासमा रहेका परम्परागत उपचार पद्धति तथा संस्कृतिको अध्ययन गर्ने विचार गरे । यस क्रममा उनले मानिसमा गढेका पीडा, कुण्ठा र चिड्चिटाहटलाई मष्तिष्कलाई शिथिल पारेर कम पार्न सकिन्छ भन्ने तथ्य पत्ता लगाए । उनलाई यसबारे थप अध्ययन गर्ने छुद्दे जाग्यो ।
त्यसैबेला उनले बेलायती महारानी भिक्टोरियाका योगगुरु शिवपुरी बाबाका बारेमा सुने । बाबा काठमाडौँको त्रिभुवन विमानस्थल छेउँमा रहेको ध्रुवस्थलीमा बस्थे ।
बाबा त्यतिबेलाका सिद्धहस्त बुद्ध थिए । उनले ३० वर्षसम्म विश्व भ्रमण गरेर त्यसताकाका चर्चित व्यक्तित्व, वैज्ञानिक आइन्सटाइन, क्युरि जोडी, मार्कोनी तथा लेखक टोलस्टोय आदिसँग भेटघाट गरेको जानकारी पनि उनले बेलायतकै दरबारबाट पाए ।
त्यसपछि मियर्स नेपाल आए । सन् १९६१ मा उनले बाबासँग भेटघाट गर्ने अवसर पाए । मियर्सका चेला डा. इयान गाउलरका अनुसार डा. मियर्सले बाबालाई विभिन्न प्रश्न गरे ।
डा. इयानका अनुसार एउटा प्रश्नको जवाफमा बाबाले भने ः म मेरो शरीरमा भएको पीडा देख्न सक्छु तर मलाई दुख्दैन ।
मियर्सले फेरि सोधे ः दुखाइ बिनाको पीडा पनि सम्भव छ ?
बाबाले जवाफ दिए ः किन नहुनु ।
मियर्सले सोधे ः त्यसो भए पीडा कम पार्ने विधि सिकेर अरुलाई पनि सिकाउन सकिन्छ त ?
बाबाले जवाफ दिए ः पक्कै सकिन्छ तर यसका लागि ध्यानको माध्यम अपनाउनुपर्दछ ।
त्यसपछि उनले प्रश्न गर्न छोडेर त्यो ध्यान सिकाइदिन बाबासँग अनुरोध गरे । बाबाले उनलाई ध्यानको विधि सिकाइ दिए । तीन दिन बसेर डा. मियर्स मेलबर्न फर्किए ।
घर फर्किना साथ मियर्सले आफैँमाथि प्रयोग गर्दै बाबाले सिकाएको ध्यान गर्न थाले । तीन वर्षको अथक प्रयासपछि उनले राँबो बसिलाको प्रयोगबाट लठ्याउने दबाइको प्रयोग बिना आफ्नै दाँतको शल्यक्रिया गरे । उनलाई दुःखेन ।
यसबाट उनी यति हर्षित भए कि अब चिकित्साशास्त्रमा उक्त ध्यानको प्रयोग गरेर ठूलो क्रान्ति ल्याउन सकिने उनलाई हौसला जाग्यो ।
उनले बाबाले सिकाएको विधिलाई अझ सरल बनाएर पश्चिमाहरुले बुझ्न सक्ने शैलीमा ढाले । उनले के बुझे भने ध्यानको एउटा निश्चित अवस्थामा मष्तिष्क तथा शरीर पूर्ण रुपमा शिथिल बन्दछ र विस्तारै अचेतन मनमा गढेको पीडालाई बाहिर निकाल्न सकिन्छ ।
यसका साथै शरीरले सचेत रुपमा आफैँलाई अवलोकन गर्ने हुनाले दुःखाइलाई महसुस नगरी टुलुटुलु हेर्न सकिन्छ ।
यसलगत्तै उनले एउटा पुस्तक लेखे, ‘रिलिफ विदाउट ड्रग’ । यो पुस्तकले चिकित्सा क्षेत्रमा निकै चर्चा कमायो तर मेडिकल बोर्डमा कार्यरत उनकै साथीहरुले उनको दाबीलाई पत्याएनन् । उनले मेडिकल बोर्डबाट आफ्नो दर्ता रद्द गराए । यसबाट उनलाई चिकित्सा पद्दति र ध्यानबीच अध्ययन गर्न थप स्ततन्त्रता मिल्यो ।
सन् १९७५ मा डा. मियर्सले आफ्नो ध्यान पद्दतिबाट क्यान्सर रोग निको पार्न सकिने दाबी गरे । चिकित्सा क्षेत्रले उनको दाबी पत्याउने कुरै भएन । यसैबेला उनको युवा पशुचिकित्सक इयान गाउलरसँग भेट भयो । डा. गाउलर क्यान्सर रोगी थिए । गाउलरलाई चिकित्सकहरुले तीनदेखि ६ महिनासम्म मात्र बाँच्न सक्ने ठोकुवा गरेका थिए ।
‘उहाँको पहिलो बोलीले नै मलाई आशावादी बनायो । उहाँले क्यान्सरका कोषहरु बढ्ने र पीडा थपिने कारणबारे मलाई विस्तारै सम्झाउनुभयो’, गाउलरले आफ्नो पुस्तकमा लेखेका छन् । उनी अझै जीवित छन् ।
डा. मियर्सले डा. गाउलरलाई शरीरमा उत्पन्न हुने कोर्टिसल गन्थ्रीले कसरी शरीरलाई कमजोर बनाई रोगसँग लड्ने क्षमता घटाउँछ भन्नेबारे व्याख्या गरे । उनले कोर्टिसलको बहाव रोकेर शरीरलाई पूर्वावस्थामा फर्काउन सकिने पनि ठोकुवा गरे ।
बाँच्ने आशामा गाउलर मेयर्सले भनेको ध्यानमा लागे । ‘जब हामी ध्यानमा जान्छौँ, शरीर शिथिल बन्दै जाँदा मष्तिष्क पनि शिथिल बन्दछ । यसबाट शरीरमा बहावमा रहेको कोर्टिसल नामक ग्रन्थीको मात्रा घट्छ र शरीरको रक्षा कवच बढ्दछ, गाउलर भन्छन् ।’
ध्यानबाट बाँचिन्छ कि भन्ने आशा त पलायो तर समय निकै कम थियो । उनी दैनिक तीन घन्टा ध्यानमा बस्थे । डा. मियर्सले ६ सातापछि दैनिक पाँच घन्टा ध्यान गराउन थाले ।
तीन महिनापछि स्वास्थ्य परीक्षण गर्दा क्यान्सरका कोषहरु बढेको पाइएन । डा. गाउलरलाई अब चाहिँ पक्कै बाँचिन्छ भन्ने आशा पलायो । बेसरी पीडा हुन्थ्यो तर बाँच्ने आशामा उनले दुखाइलाई पनि पचाए ।
त्यतिबेलासम्म उनी पीडा अवलोकन गर्ने तर महसुस नगर्ने अवस्थामा पुगेका थिएनन् । ‘असल खान पान, उचित शारीरिक अभ्यास र मेरी पहिलीे पत्नीको माया नै मेरो बँचाइका आधार थिए’, गाउलर भन्छन् ।
सन् १९७६ को शुरुमा उनलाई रेडियोथेरापी गरियो । सोही वर्षको अक्टोबरमा गाउलरलाई तीन पटक किमोथेरापी गरियो । अब उनी बाँचे ।
सन् १९७८ मा उनलाई स्वास्थ्य परीक्षण गर्दा क्यान्सरमुक्त घोषणा गरियो । सोही वर्ष डा. गाउलरको क्यान्सर जीतलाई डा. मियर्सले मेडिकल जर्नल अफ अस्ट्रेलियामा प्रकाशित गराए । यस आलेखले विश्वभर हंगामा मच्चायो ।
तीन वर्षसम्म लगातार आम सञ्चारलाई जवाफ दिएपछि गाउलरले यस विधिबाट अन्य पीडितलाई पनि सहयोग गर्ने विचार गरे ।
यसबीचमा उनी केही समय जागिरमा पनि फर्किए । उनले डा. मियर्सको ध्यान विधि अरुलाई सिकाउन थाले । यसको पाँच वर्षपछि डा. मियर्सको निधन भयो ।
मियर्सको निधन भएपछि पनि डा. गाउलरले उनको काम निरन्तर अघि बढाए । यो कार्य अस्ट्रेलियाका लागि मात्र नभइ विश्वकै लागि एउटा नौलो अभियान थियो । उनले जो जो आउँछन् सबैलाई विधि सिकाए ।
सन् १९९५ मा गाउलर फाउन्डेसनले क्यान्सर जित्न सकिन्छ भन्ने शन्देश समेटिएको पहिलो पुस्तक यु क्यान कनक्वेयर क्यान्सर प्रकाशित भयो । त्यसमा ५० जना क्यान्सर विजेताका अनुभव समेटिएको छ ।
यसैगरी सन् २००८ मा पनि क्यान्सर विजेता २८ जनाको अनुभव समेटिएको अर्को पुस्तक सर्भाइभिङ क्यान्सर पनि प्रकाशित भयो ।
डा.गाउलरको कार्य निर्विवाद भने रहेन ।
डिसेम्बर सन् २०११ मा रोयल अस्ट्रेलियन कलेज अफ फिजिसियनको जर्नलमा दुईजना चिकित्सक इयान हाइनेस र रे लोवेन्थलले गाउलरको बायोप्सी जाँच उति आधुनिक नभएको र क्षयरोगलाई क्यान्सर मानिएको दाबी गरी लेख छपाए ।
यसको आलोचना गर्दै गाउलरले ती दुई क्यान्सर विज्ञहरुलाई आफ्नो उपचार प्रयोग भएको विधि र संलग्न चिकित्सकसँग सम्पर्क गर्न चुनौती दिए । यसका साथै गाउलरको उपचारमा संलग्न चिकित्सकहरुले क्यान्सरको कारण उनको शरीर कमजोर भएपछि मात्र क्षयरोग लागेको प्रतिक्रिया पनि दिए ।
डा. गाउलरको विपक्षमा आवाज उठाउँदै आएका डा. लोवेन्थलले सन् २०१२ स्थानीय एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै डा. गाउलरलाई उनले क्यान्सर निको पारेका ५० जनाको उपचार सम्बन्धी विवरण प्रस्तुत गर्न चुनौती दिए ।
गाउलरले तुरुन्तै विवरण उपलब्ध गराए । डा. लोवेन्थलले ती उपचारसम्बन्धी विवरण समीक्षा गरी तथ्य पत्ता लगाउने दाबी गरेका थिए । तर उक्त कार्य हालसम्म गरेको जानकारीमा छैन ।
आमसञ्चार माध्यमहरुले प्रतिक्रिया लिँदा उक्त कार्यका लागि आवश्यक रकम कतैबाट उपलब्ध नभएका कारण समीक्षा गर्न नसकिएको उनको दाबी छ ।
यस्तो ज्ञान हामीसँगै थियो । अहिले इतिहास बन्यो । अझै हामीले यस्ता कयौँ ज्ञानहरु गुमाउँदैछौँ । अलिकति सोच्ने हो कि ? (ध्यान सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक डा. ओझा हाल नेपाल सरकारको कारागार व्यवस्थापन विभागका मनोसामाजिक परामर्शदाता हुन्)