arrow

भिटामिन ‘डी’ को कमीः समस्या एक रोग अनेक 

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ साउन २६ शनिबार
kapilmani-kc-81-4-26.jpg

भिटामिन ‘डी’ शरीरलाई आवश्यक पर्ने भिटामिनहरूमध्ये एकदमै महत्वपूर्ण भिटामिन हो । कहिलेकाहिँ भिटामिन डी कम भएको कुनै लक्षण नै देखिँदैन । रगतमा भिटामिन डीको जाँच गराएपछि मात्र भिटामिन डी कम भएको थाहा हुन्छ । लक्षणहरू देखिए पनि बिरामीहरूले सजिलै पहिचान गर्न सक्ने अथवा ब्याख्या गर्न नसक्ने प्रकारका पनि हुन सक्छन् । 

हिजोआज सबै जनाको मन मस्तिकमा युरिक एसिडको बारेमा ठूलो छाप परेको हुँदा जस्ता लक्षणहरू देखिए पनि युरिक एसिडले नै हो भन्ने स्वघोषित मनसायले भिटामिन डी कम भए पनि युरिक एसिडको उपचारतिर लागेका हुन्छन् । त्यसकारण भिटामिन डी कम हँुदा के कस्ता लक्षणहरू देखिन्छन् भनेर जान्नु अर्थपूर्ण हुन्छ ।

हुनत शरीरमा थकाइ महसुस हुने धेरै कारण हरू हुन सक्छन् तर भिटामिन डीको कमी हुँदा शरीरमा थकाइ महसुस हुने अल्छी लाग्ने वा काम गर्न जाँगर नलाग्ने हुनसक्छ । 

भिटामिन डीले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने हुँदा यसको कमीले मानिसहरूलाई छिटो छिटो संकर्मन हुने, रुघाखोकी लाग्ने हुन सक्छ । अर्को महत्वपूर्ण लक्षणको चर्चा गर्दा भिटामिन डी कम भएमा शरीरका मांसपेशीहरूमा कमजोरी महसुस हुने, मांसपेशीहरूमा राम्रोसँग बल नआउने हुन्छ । 

भिटामिन डीले मानव शरीरका आन्द्राहरू र मिर्गौलाबाट क्याल्सियमलाई सोसेर रगतमा क्याल्सियमको मात्रा बढाउने हुँदा भिटामिन डी कमी भएको अवस्थामा हड्डीहरू कमजोर हुने हुन्छन् । 

वयस्क मानिसहरूमा क्याल्सियम र भिटामिन डी कम भएर हड्डी कमजोर हुने अवस्थालाई ओस्टियोमालासिया भनिन्छ । ओस्टियोमालासिआ भएमा हड्डीमा दुखाइ हुने, हड्डीहरू सजिलैसँग भाँच्चिने हुन्छन् । 

बच्चाबच्चीहरूमा क्याल्सियम तथा भिटामिन डी कम भएर हुने रोगलाई रिकेट भनिन्छ जुन अवस्थामा खुट्टाका हड्डीहरू बाङ्गाटिङ्गा हुने, टाउको ठूलो हुने छातीको हड्डी चुच्चो भएर परेवाको छाती जस्तो देखिने हुन्छ । रिकेट रोग लागेका बच्चा बच्चीहरूको शरीरको उचाइ र वजन पनि उमेर अनुसार बढ्दैन ।

ढाड दुख्ने धेरै कारणहरूले हुन्छ । कहिलेकाहिँ जवान मानिसहरूमा ढाड दुख्ने कारण भिटामिन डीको कमीले पनि हुनसक्छ । सामान्यतया ढाडको एक्सरे गर्दा वा अरु जाँचहरू गर्दा कुनै कारण नभेटिएको अवस्थामा भिटामिन डीको कमीले ढाड दुख्ने हुनसक्छ र चिकित्सकहरूले जहिले पनि ढाड दुख्ने बिरामीको उपचार गर्दा भिटामिन डीको कमी हुनसक्छ भन्ने दिमागमा राख्नु पर्दछ । 

यस्ता बिरामीहरूलाई भिटामिन डी दिँदा नाटकीय रुपमा ढाड दुख्ने कम हुन्छ । हामीहरूमध्ये धेरै जनालाई कपाल झर्ने समस्या हुन सक्छ । 

कपाल झर्ने धेरै कारणहरूमध्ये भिटामिन डीको कमी एउटा महत्वपूर्ण कारण हो । त्यसकारण कपाल झर्ने समस्या आएमा चिकित्सक र बिरामीहरू दुवैले यो कारण  राम्रोसँग बुझ्नु पर्दछ । 

एउटा कुरा हामीहरूलाई अचम्म लाग्न सक्छ । त्यो के हो भने भिटामिन डी कम हुँदा मानिसहरूलाई चिन्ता र डिप्रेसनको समस्या हुन सक्छ । अनुसन्धानहरूबाट यो कुरा पुष्टि भैसकेको छ कि शरीरमा भिटामिन डी पर्याप्त मात्रामा भएमा बिरामीहरूमा डिप्रेसनको समस्या कम हुनसक्छ । 

भिटामिन डी फ्याटसँग सजिलै मिल्ने भिटामिन भएकाले मोटा मानिसहरूमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ । किनकि भिटामिन डी शरीरमा भएको बोसोमा गएर जम्मा हुन्छ । 

सामान्य रुपमा भिटामिन डी शरीरको रगत र हड्डीमा हुनुपर्ने हुन्छ नकि बोसोमा । यसर्थ शरीरको वजन बढ्ने एउटा कारण भिटामिन डीको कमी पनि हुनसक्छ । 

हामीहरू धेरै जसोलाई शरीर चिलाउने रोगको बारेमा अवगत छ होला ।  एक प्रकारको शरीर चिलाउने रोग जसलाई एक्जेमा भनिन्छ । अनुसन्धानको रिपोर्ट अनुसार चिलाउने एक्जेमा रोगको पनि केही मात्रामा भिटामिन डीसँग सम्बन्ध भएको पाइन्छ । 

बच्चाबच्चीहरूमा दाँतहरू समयमा ननिक्लने, दाँतहरू खिएर बिग्रने, गिजा सुन्निने समस्या पनि भिटामिन डीको कमीले हुनसक्छ । 

त्यसकारण यी सबै लक्षणहरूलाई समयमै पहिचान गरेर भिटामिन डीको कमी छ कि छैन भनेर पत्ता लगाउन जरुरी छ । 

भिटामिन डीको कमी देखिएमा समयमै भिटामिन डीको सेवन गरेर माथि उल्लेख गरिएका समस्याहरूबाट बच्न सकिन्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ