arrow

वर्षमान, जनार्दनहरूको चुनौतीले झस्किए प्रचण्ड, सम्झना वैद्य र बाबुरामको

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
prachanda-tension.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकमा स्पष्ट दुई धार देखिएको छ । विगतमा महासचिवका दावेदार रहेका जनार्दन शर्मा र वर्षमान पुन एकै ठाउँमा उभिँदा दुई धार देखिएको हो । स्थायी समिति बैठकमा एउटा धार सदावहार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्कोधारको नेतृत्व शर्मा र पुनले गरेका छन् ।

तत्कालीन समयमा कांग्रेससँगको गठबन्धन तोड्नु हुँदैन भन्ने शर्मा र एमालेसँग गठबन्धन गरेर जानुपर्छ भन्ने पुन यतिबेला प्रचण्डलाई दबाब बढाउन एकै ठाउँमा उभिएका छन् । 

उनीहरुले एकै स्वरमा प्रचण्डको नेतृत्व असफल भएको मात्र भनेनन् सरकामा रहँदा पार्टीका नेता कार्यकर्तालाई फसाउन प्रयोग भएको आरोपसमेत लगाए । 

वर्षमान पुनले त सहयोग गरिरहँदा पनि असहयोग गरेको आरोप लागेको गुनासो गरेका थिए । उनकी श्रीमती एवं पूर्व सभामुख ओनसरी घर्तीले आफू र आफ्नो परिवारलाई सुन तस्करीको आरोप लाग्दा प्रधानमन्त्री रहेका प्रचण्ड र गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठको फोन नउठेको र भेट्नसमेत नचाहेको गुनासो गरेकी थिइन् ।

उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकोले अगाामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राख्दै गर्दा प्रचण्डको नेतृत्व असफल भएको संकेत गरेका थिए । 

‘अबचाहिँ नेतृत्वको कार्यकाल तोकेर जानुपर्छ अनि मात्र नेतृत्वको विकास हुन्छ,’ उनले भनेका थिए ।  नेतृ जयपुरी घर्तीले पनि पुनको भनाईमा समर्थन गरेकी थिइन् । 

पार्टीको कार्यविभाजन, मन्त्री चयनलगायतमा कुनै विधि नभएको भन्दै आक्रोश पोखेकी थिइन् । ‘पार्टीमा विधि र पद्धति भनेको केही छैन, के यसरी पार्टी चल्न सक्छ’, उनले पुनको भनाइमा समर्थन गरेकी थिइन् ।

स्थायी समिति बैठकमा यतिबेला प्रचण्ड निकै अप्ठेरोमा छन् । उनले पार्टीका विभिन्न कार्यक्रममा बोलेका भनाइलाई पनि नेताहरुले उठाएर अप्ठेरोमा पारिरहेका छन् । 

साथै प्रचण्डको सचिवालयमा परिवारका सदस्यहरु हावी हुँदा पार्टी काममा अप्ठेरो परेको गुनासो मात्रै गरेका छैनन् समग्र नेताहरुलाई अन्याय भएको आरोपसमेत लगाएका थिए । ‘बैठकमा यसो हेर्दा प्रचण्डप्रति तीब्र आक्रोश व्यक्त गर्नेमा पश्चिम नेपाल नेताहरु धेरै हुनुहुन्थ्यो’, स्रोतले भन्यो ।

प्रचण्डले बैठकमा धेरैजसो समय नेताहरुको आक्रोशपूर्ण भनाइहरु सुनेर बिताएका थिए । खासगरी प्रचण्डले यसपटक उपमहासचिव शर्मा र पुनका भनाई निकै ध्यान दिएर सुनेका थिए । 

शर्माले कांग्रेस, एमाले गठबन्धन हुने गरी भएको उथलपुथलमा प्रचण्ड नै जिम्मेवार भएको संकेत गरेका थिए । 

‘गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रियाकलापले गर्दा पार्टीलाई भएको वैचारिक र व्यावहारिक लाभ–हानिको मूल्यांकन गर्ने अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो ? यसको जिम्मेवार को हो भन्ने विषय पार्टीमा स्पष्ट गर्ने’ उनले भनेका थिए । 

उनले यो विषयमा लिखित नै धारणा राखेपछि प्रचण्डलाई झन् अप्ठेरो परेको बताइन्छ । विगतमा प्रचण्डलाई यिनै दुई नेताले साथ दिदै आएका थिए । 

‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सिर्जना गर्ने भनेझैं पार्टीलाई नै क्षति हुने गरी सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ’ शर्माले नेतृत्व हस्तान्तरणको माग गर्दै लिखित रूपमा तीन विकल्प पनि अघि सारेका थिए ।


विगतमा प्रचण्डलाई मोहन वैद्य र डा. बाबुराम भट्टराई दुवैले चुनौती दिएका थिए । तर उनीहरु दुवै भिन्न पार्टी निर्माण गरेर बाहिरिए । अहिले उनीहरु दुवै जना अस्तित्व रक्षामा रहेका छन् । 

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पार्टीमा मोहन वैद्यले नै प्रचण्डलाई चुनौती दिएका थिए । पार्टीको विचार र कार्यदिशालाई लिएर २०६५ साल मंसिरमा वैद्यले खरिपाटी भेला (विस्तारित बैठक) मा समानान्तर दस्तावेज पेस गरेर अप्ठ्यारो पारेपछि रामबहादुर थापा बादलका कारण जोगिएका थिए । 

त्यतिबेला बादल प्रचण्डतिर मोडिएपछि वैद्यको दस्तावेज अल्पमतमा परेको थियो । त्यसपछि प्रचण्डले आफू सुरक्षित हुनका लागि २०६५ पुस २९ गते नाराययणकाजी श्रेष्ठ नेतृत्वको नेकपा (एकता केन्द्र मशाल) सँग एकता गरी बहुमतमा बनाएका थिए । 

प्रचण्डको सारथीको रुपमा एकीकृत माओवादी गठन भएको चार वर्षमै २०६९ सालमा मोहन वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेपछि सोही वर्ष माघमा माओवादीले हेटौँडामा सातौँ महाधिवेशन गर्यो । २१ वर्षपछि गरेको महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड नै चुनिए ।

त्यसअघि पार्टी नेतृत्वलाई आफू अनुकूल बनाउन नसकिएको भन्दै उनका विरुद्ध २०६८ साउनमा ललितपुरको धोबीघाट गठबन्धन भयो । 

जसबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुने बाटो खुल्यो तर वैद्यहरु सहमत हुन सकेनन र नयाँ पार्टी खुलेको थियो । पार्टीबाट वैद्य अलग भएपछि प्रचण्ड नेतृत्वको एकीकृत माओवादी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सहभागी भयो । 

उसलाई हराउन वैद्य नेतृत्वको माओवादी देशैभर सक्रिय भयो । कांग्रेस, एमाले र माओवादी एक ठाउँमा उभिएपछि २०७२ साल असोज ३ गते संविधान घोषणा भयो । 

संविधान घोषणा गर्न अथक मेहनत गरेका बाबुराम भट्टराईले २०७२ साल असोज ९ गते माओवादी परित्याग गरेको घोषणा गरे । 

माओवादी पार्टी भत्किएको घर भएको संज्ञा दिँदै पुरानै ढर्रामा चल्न नसक्ने भएकाले रुपान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रचण्ड सहमत भएनन् । 

उनी नेतृत्व पनि हस्तान्तरण गर्न तयार भएनन । त्यसैले भट्टराईले पार्टी परित्याग गरेका थिए । 

भट्टराई नै बाहिरिएपछि प्रचण्डलाई प्रश्न गर्ने नेताको अभाव भयो । अहिले भने कम्तीमा पुन, शर्मा र गजुरेलहरुले नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ