arrow

द्वन्दको घाउ

प्रचण्डको चिन्ता- शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्ने हो कि ? [भिडियो]

राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
prachanda-04-30.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए । 

उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए । उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्न सक्ने चिन्ता व्यक्त गरे । अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए । एक अर्काप्रति निषेधको नभई हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्‍यौँ, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ । संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन् । संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो जनताले अपेक्षा रेअनुसार पूरा गर्न सकिएको छैन । अहिले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छ । म यस सन्दर्भमा पनि सम्माननीय प्रधानमन्त्रीजी र सभापति शेरबहादुर देउवाजीलाई धन्यवाद भन्न चाहन्छु । तपाईँहरूले भनेको जस्तै अहिले समाजमा एउटा प्रवृत्ति देशमा अराजकता फैल्याउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोज्दै छ । यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू, सबै सङ्घसंस्थाहरू लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरू समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो वरिपरि, हाम्रो छिमेकतिर, हाम्रो दक्षिण एसियामा राजनीतिक घटनाक्रमहरू जसरी अघि बढेका छन्, ती सबैले हामी सबैलाई गम्भीर हुन, एक अर्काप्रति निषेधको होइन, एक अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।’ 

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए । चुनौतीको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताए । उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए । उनले शान्ति कोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरे पनि कार्यान्वयन अझै शुरु नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ