arrow

प्रचण्ड आफैँले किन पारिरहेका छन् विवादलाई तल्लो तहमै लगेर छताछुल्ल ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
prachanda-05-01-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पार्टीको आन्तरिक बैठकमा मात्रै विवाद देखिए पनि नेकपा माओवादी केन्द्रले पहिलो पटक तल्लो तहमा विवादलाई छताछुल्ल पारेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनार्दन शर्माविरुद्ध अनर्गल प्रचार गरेको आरोप लागिरहेका बेला प्रचण्ड स्वंयले विवादलाई तल्लो तहमा लगेर छताछुल्ल पारेका हुन् । 

पार्टीको स्थायी कमिटी बैठकमा फेरि एक पटक नेतृत्व परिवर्तनको आवाज उठेपछि त्यसलाई तल्लो तहले आयोजना गर्ने कार्यक्रममा लगेर नेतृत्व परिवर्तन होइन भन्ने बनाएका छन् ।  

उपमहासचिव जनार्दन शर्माले पछिल्लो पटक नेतृत्व परिवर्तनको लागि लिखित प्रस्ताव राखेपछि ‘आगो’ भएका प्रचण्डले स–साना कार्यक्रममा नेतृत्वप्रति विवाद नभएको देखाउन खोजेका छन् । 

नेकपा माओवादी केन्द्र काठमाडौँ–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले खुला छलफलले आफूहरुबीच देखिएको शंका मेटिएको भन्दै जनार्दन शर्माले पार्टी विभाजन गर्न खोजेको वा नेतृत्व परिवर्तन गर्न खोजेको होइन भनेका थिए ।

तर विगत साढे तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले भने यसलाई गम्भीर रूपमा लिएका छैनन् । 

प्रचण्डले यसअघि २०७९ को पुसमा भएको माओवादीको आठौँ महाधिवेशनका क्रममा पनि प्रचण्डले नेतृत्व लिनका लागि पार्टीमा कुनै नेता तयार नभएको टिप्पणी गरेका थिए । 

तर २०८१ साल असारमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेतृत्वका लागि सबै तयार हुनुपर्ने भन्दै प्रचण्डको गाथगाथी ताकेका थिए ।

त्यही मौकामा उपमहासचिव शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएर नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरे ।

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने’, शर्माले भनेका थिए । 

उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेपछि प्रचण्डले पनि शर्मालाई अघि बढ्न नदिने गरी तल्लो तहमासमेत विवादलाई लगेका निकटवर्ती नेताहरुले बताएका छन् ।

शर्माले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका गरेपछि प्रचण्ड झन आक्रोशित बनेका थिए । 

जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएका थिए । अझ पुन पत्नी ओनसरी घर्तीले त चर्को स्वरमै आलोचना गरेकी थिइन् । 

नेतृत्वमा चुनौती दिन सक्ने ठानिएका धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ । यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भएका थिए ।

पार्टीमा उपाध्यक्ष रहेका भट्टराईले पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने आवाज उठाउँदै एउटै व्यक्तिले वर्षौँसम्म पार्टीको नेतृत्व गर्ने परम्परा अन्त्य गरिनुपर्ने विचार अघि सारेका थिए । 

यसमा उनी सफल भएनन् । ‘बाबुराम,  मोहन बैद्य सफल भएनन्, शर्माले उठाएको विषय पनि मौन रहन सक्छ’, माओवादीका एक स्थायी समिति सदस्यले भने ।

दश वर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मत भिन्नता राख्ने अधिकांश नेताहरू यतिबेला अलग भइसकेका छन् । तर पार्टीको आकार सानो हुँदै गएपछि प्रचण्डले सबैलाई एक ठाउँमा जोड्ने कोसिस गरिरहेका छन् । 

पार्टीबाट बाहिर रहेका नेत्रविक्रम चन्द समूहलाई पार्टीमा ल्याउने कोसिस गरिरहेका छन् । 

प्रचण्डका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तर्विरोधपछि एक दशकअघि अलग पार्टी गठन गरेर बाहिरिएपछि बाबुराम पनि बाहिरिएका थिए । 

वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा बादल पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन् । 

उनी एमालेको उपाध्यक्ष छन् । चन्दलाई फेरि माओवादीमा फर्काउने र महासचिव दिने चर्चा गरिएको छ । जनार्दन शर्मा र वर्षमान पुनको प्रतिस्पर्धाले देव गुरुङले महासचिव पाएका थिए । अहिले चन्दलाई ल्याएर महासचिव बनाउने हल्ला माओवादी पार्टीभित्र चलेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ