arrow

कोशीका सबै विमानस्थल सञ्चालनमा ल्याउन पहल भइरहेको छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
hikmatkumar-karki-cm-koshi-.jpg
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका पहाडी तथा हिमाली जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभित्र विमानस्थलमा उडान सुरु गर्न पहल भइरहेको बताएका छन् । 

विराटनगरमा आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकलाई प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बङ्गलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

कोशी प्रदेशमा ११ विमानस्थल रहेका भए पनि केहीमा मात्रै उडान भइरहेको जानकारी दिँदै उनले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताए । 

“निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको छ, लागत साझेदारी गर्नसमेत प्रदेश सरकार तयार छ”, उनले भने । विसं २०८२ लाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यसअघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताए । 

कोशी प्रदेशमा घुम्न आउने भारत र बङ्गलादेशका पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको बताए ।

कोशी प्रदेशले सूचना प्रविधि र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको भन्दै उनले भने, “हामीले यी दुवै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ, पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यकता यही हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ