- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । कोशी प्रदेश सभाका संसदीय समितिको निर्वाचन २१ महिनापछि हुन लागेको छ । शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५ः१५ बजेसम्ममा हुने र दाबी विरोधका लागि ५ः२० देखि ५ः३० सम्म, दाबी विरोधमाथि छानबिन ५ः३० देखि ५ः४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५ः४५ देखि ६ः०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ ।
त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ ।
यसैबीच प्रदेश सभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ । कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
प्रदेश सभामा रहेका ७ समितिहरुमा एमाले र कांग्रेसले ३(३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरी सहमति भएको छ ।
जसमा एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै कांग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राई उम्मेदवार बन्ने भएका छन् ।
त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता ईन्द्र आङ्बोले जानकारी दिएका छन् ।