आजै प्रधानन्यायाधीश सिफारिस हुन सक्ने, बस्दै संवैधानिक परिषदको बैठक
संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
768
Shares
काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्दैछ । यसअघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेदेखि अवकाशमा जाँदै छन् । तर अहिलेसम्म संवैधानिक परिषदले प्रधानन्याधीशको सिफारिस गर्न सकेको छैन । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ ।
जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
सिफारिस भएकामध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।