पोखरा । परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशिएका ज्ञानबहादुर थापामगर रुसमा हराएपछि उनको परिवार विचल्लीमा परेको छ ।
दलालमार्फत रुस पुगेका थापा १० महिनादेखि सम्पर्कविहीन भएपछि पाँच जनाको परिवार विचल्लीमा परेको हो ।
बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ वर्षीय थापाको पाँच जनाको परिवार यतिखेर पोखरा-१६ बाटुलेचौरमा कोठा भाडामा लिएर बस्दै आएको छ ।
श्रीमती इन्दिरा भन्छिन्, ‘रुस गएको एक वर्ष भइसक्यो, गत मंसिरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो, त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ ।’
रुस जाँदा आठ लाख खर्च भएको उनको भनाइ छ । गहभरि आँशु पारेर भक्कानिँदै इन्दिरा भन्छिन्, ‘श्रीमानसँग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन, कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ, जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वासमा छु ।’
इन्दिराले थपिन्, “रुस पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो, दोश्रो क्याम्पमा सारेपछि खानसमेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाइदिनुभयो, युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन, त्यसअघि पनि कुनै पनि रकम पठाउनुभएन ।’
‘निःशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोँच बन्यो भन्नुभयो’, उनले भनिन्, ‘हामी सबै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस् भन्यौँ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो ।’
इन्दिरा भन्छिन्, ‘मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नु पर्ने भनेको थियो, अहिले नियमित औषधि खुवाउनसमेत मुस्किल परेको छ, डीएनए परीक्षणका लागि सम्पर्कविहीन थापाकी दिदी इन्दिरा काठमाडौँ जानुभएको थियो ।’
उनीहरुका सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृतासहित पाँच जनाको परिवार छ ।
छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको र बर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको उनले बताइन् ।
परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उनले बताइन् ।