arrow

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

logo
एएफपी,
प्रकाशित २०८१ असोज १२ शनिबार
hezbollah-leader-hassan-nasrallah-death.jpg

बेरुत। लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिवार पुष्टि गरेको छ। हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर शहीद कमरेडहरूसँग सामेल हुनुभएको छ। उनको मृत्यु भएको छ।”

नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समूहको नेतृत्व गरेका थिए।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो। इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्‍याएको छ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गरेका थिए।

वर्षौँदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ। खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहुदीहरूको बर्बर स्वभावलाई फेरि एक पटक उजागर गरेको छ। अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।”

अयातुल्लाह अली खामेनीले लेबनान र हिजबुल्लाहका जनताको साथमा उभिन र ‘दमनकारी शासनको सामना गर्न’ उनीहरूलाई समर्थन गर्न सबै मुसलमानहरूलाई आग्रह गरेका छन्।

सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिवार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रूपमा विरलै देखिएका थिए।

सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उनी ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ