arrow

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक नेपालीमा प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
podcasting-book-81-6-18.jpg

काठमाडौँ । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रिगिट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ ।

एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजानिक गरेका हुन् । 

पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सीएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो ।

कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताए । 

उनले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे । साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिए ।

लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन् । पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभुतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन् । त्यसका साथै पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् ।

कार्यक्रममा सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरुसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान संचालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिवृद्धिको कार्यक्रमलाई जोड दिएको बताए ।

नेपाल फ्याक्टचेक शुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरुलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजिटल सुरक्षा, र तथ्यजाँच लगायतका तालिम दिने कार्य गरेको बताए ।

एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरुलाई तालिम दिइसकेको उल्लेख गरे ।

एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् ।

कार्यक्रममा साइडेलले एकेडेमीमा पत्रकारका लागि डिजिटल सुरक्षा कोर्सका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ