arrow

राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने अर्थमन्त्रीको जिकिर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
bishnu-poudel-06-21.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरू कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो । 

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशन दिए। उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले त्रास, आतङ्क, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्ने बताउनु भयो । उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए ।

उनले भने, ‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ । कोही पनि सुरक्षित छैनौँ । मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरू पनि सुरक्षित हुनुहुन्न । उपमहा निर्देशक सुरक्षित हुनुहुन्न । कार्यालयका प्रमुखहरू सुरक्षित हुनुहुन्न । कोही पनि सुरक्षित हुँदैन । म स्वयं सुरक्षित छैन । हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ । यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ । त्रास, आतङ्क, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्छ । के बुझ्नुपर्छ भने यदि हामीले भय दोहन गर्न खोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो बिन्दु आउँछ, जति बेला मान्छेले प्रतिवाद गर्दछ । प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ । कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो । उनीहरूका गल्ती, कमजोरीप्रति सहिष्णु बन्न सकिँदैन, गल्ती कमजोरीलाई देखाउने हो, सच्याउन लगाउने हो । कुनै पनि प्रकारका चिटिङलाई दायरामा ल्याउने हो । नियमन गर्ने हो, अनुचित ढङ्गले छुट दिने, अन्देखा गर्ने होइन । तर तर्साउने, धम्क्याउने काम हाम्रो कर प्रशासनले गर्दैन । मिठो बोलेर के बिग्रिन्छ । विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु । धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ । तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ