arrow

बुद्धि लगाएर झ्याप्ले खोलाको अवरोध छिचोलेर बाँचेका साहसी युवाको पत्नीलाई कारुणिक पत्र

logo
दामोदर शर्मा, 
प्रकाशित २०८१ असोज २२ मंगलबार
damodar-sharma-81-6-22.jpg

प्रियलाई पत्र
मिति  २०८१/६/१६
प्यारी श्रीमती धेरै धेरै माया अनि मिठो सम्झना,

आरामै छु आरामताको कामना । छोराछोरीलाई पनि धेरै धेरै माया सुनाइदिनु । बाआमालाई साष्टाङ्ग दण्डवत् । आरामका साथ आइपुगेर डिउटी पनि लागिसकेँ । नरमाइलो लागिरहेको छ । हुनत यो दशैँ तिहारको बेलामा कसलाई मन लाग्छ र यो प्रदेशमा आउन । आ-आफ्नो बाध्यता विवशताले गाउँ, साथीभाइ, परिवार छोडेर यो बिरानो मुलुकमा कर्म र भोलिको सुख खोज्दै साना-साना लालाबाला छोडेर गरुङ्गो मन पारेर मुटुभित्र गाठो पारेर बा भन्ने नातामात्र म त्यसको भूमिका तिम्रो काँधमा सुम्पिएर यो बिरानो मुलुकमा कर्म गरिरहेको छु । 

प्रिय ! नआत्तिनु । छोराछोरीको धेरै ख्याल राख्नु । मोबाइल धेरै नचलाउनु । तिमीले चलाएको देखेपछि बाबुनानीले पनि त्यही खोज्छन् । उनीहरुको लत लाग्न सक्छ । ऐले पढ्ने समय हो । पढाइमा ध्यान पुर्याउनु । बेलाबेलामा बाआमालाई पनि फोन गर्दै गरे है ।

प्रिय ! तिमी धेरै आत्तिएकी हौली यो पालि मेरो यात्रा कहालीलाग्दो कथा बन्यो । सबै कुरा अझै विस्तृतमा केही दिनपछि मोबाइल किनेर भिडियोकलमा बताउने छु । प्रिय हुनत दैवको खेल कसले टार्न सक्दोरहेछ र । 

म त्यो दिन घरबाट हिँडेको केहीघण्टामै धादिङबेसी पुगियो माइक्रोबस आफ्नै गतिमा हुइँकिदै थियो भने उता इन्द्र भगवान् निकै रिसाएजस्तो गरी आरिघोप्टे वर्षाले हद पार गरिसकेको थियो । 

हुनत सरकारले अलर्ट जारी गरिसकेको थियो तर पनि तिम्रो जिद्दी एकदिन भए नि तिम्रो मायालु काखमा लुटुपुटिँदै रात बिताउने चाहनालाई मैले नकार्न पनि सकिन ।

आफ्नै कारण ठूलो दुःख पाउनु परो प्रिय  ! मनमा पीडाका भारी बोकेर मन अमिलो पार्दै यात्रा चल्दै थियो लगभग रातको १० बजेको थियो चल्दै गरेको गाडीमा ब्रेक लाग्यो । भोलि बिहानको ११ बजेको फ्लाइट छ कसरी काठमाडौँ पुग्ने भन्ने मात्र मनमा थियो । 

गाडीले डेग चल्न छोड्यो । अनेकौँ हार गुहार गरेउँ सुनुवाइ हुने परिस्थिति नै थिएन । सायद मेरो जीवनमा त्यति ठूलो पानी परेको मेरो अनुभवमा थिएन । एकपटक तल्लो खेत मेरै आँखा अगाडि लम्तने खोलोले पूरै बगरमा परिणत गरिदिएको झलझली आँखा अगाडि घुम्न थाल्यो । 

फर्कने कुनै उपाय थिएन । प्रिय तिम्रो फोन उठाउँदा ठीक छु भन्दै काट्नाको कारण त्यो भन्दा बढी शब्द बोल्दा भक्कानो छुटेर गला अवरुद्द भएर हो प्रिय । तिमीलाई त्यो रात निद लागेन म जान्दछु । गाडी अगाडि नजाने निश्चित भएपछि म झोला बोकेर तिमीले सानो टर्चच हाल्दिएकी रै'छेउ मेरो लागि त्यो वरदान भो । 

त्यही लाइट हातमा समातेर गाडीबाट फुत्त निस्किएँ । पिसाब गर्ने बहाना बनाएको मेरो यात्रा धाडिङको उकालोतिर लम्कियो । पानीका छहराले बगाउला जस्तो लाग्थ्यो । केही घुम्ती पार गरेपछि हिलाम्य सडकमा मेरा खुट्टा गाडिए । निस्कन निकै कस्ट भो । 

जीवनको अन्तिम घडी आएछ भन्ने सोच्दै त्यो पहिरोसँग लड्दै भिड्दै बल्ल तल्ल बाहिर त निस्किएँ निस्किदासम्म मेरो शरीर पूरै हिलाम्मे थियो । खुट्टाका जुत्ता र झोला गुमाइसकेको थिएँ । हार मानिन । खासमा त्यो सानो पहिरो थियो । यदि त्यो पहिरो पछि ठूलो गाडी भएको भए त्यो गाडीले नै आफ्नो बाटो बनाउँदै अन्य साधन आवत जावत गर्न सक्थे । 

तर बिडम्बना दुवैतर्फ साना कारहरु मात्र थिए । त्यहाँनेर सानो गल्तीले हजारौँ यात्रीले दु:ख पाउनु परो भन्दै राज्यका विभिन्न निकायलाई फलाक्दै आफ्नो यात्रा नरोकी पाइला निरन्तर बढिराखे । 

अमेरिका जाँदा पानामा जङ्गलको कथा पढेको म त्यो भन्दा कस्टकर यात्रामा थिएँ थाहा थिएन । मैले ठीक गरेँ कि बेठीक एक महिना पहिलेमात्र सिमताल पहिरोमा परेका दुई बस र यात्रीहरुलाई सम्झदै राज्यले सामान्य कुरामा ध्यान नदिँदा ठूलो धनजनको क्षति भएको महसुस गर्दै लगभग ४ घण्टाको कष्टकर यात्रा पार गर्दै थानकोट पुगेँ ।

मेरो हृदयले भगवान् लाई धन्यवाद दियो यताउता हेरेँ । पूरै सुनसान छ । एउटा छेउँतिर मधुरो बत्ती बलेको देखेँ । मेरा पाइला तेता लम्किए त्यहाँ केही प्रहरी जवान रहेछन् । मैले यो यात्रा सविस्तार बताएँ । अब जे भए पनि बिहान नहुन्जेल कुनै उपाय नभएको भन्ने लाचार जवाफ पाएँ ।

तिनैमध्ये एक जनासँग मोबाइल मागेर तिमीलाई फोन गरेर मोबाइलमा ब्याट्री सकिएको रेडिमेट कुरा बनाएँ । प्यारी वास्तवमा मोबाइल पानीले पूरै भिजेर बिग्रेको थियो ।

केहीबेरको बसाइपछि लगभग बिहानको ५ बजिसकेको थियो म त्यहाँबाट काठमाडौँतिर लागेँ ।उताको अवस्था त झन् दयनीय थियो । झन्डै ५ घण्टाको यात्रापछि म विमानस्थल पुगेँ भगवानले हात थापे बाँचियो भन्दै सबै चिज भिजेर काम नलाग्ने भैसकेको भए पनि पासपोर्ट भने सुरक्षित राखेको म तिनै भिजेका कपडासँगै तिनै थानकोटमा पुलिस दाइले दिएका एक जोडी चप्पल पड्क्याउँदै भित्र छिरेँ ।

सबैले मलाई हेरेजस्तो लाग्दै थियो । घर सम्झिएँ । आमालाई एक जना साथीको मोबाइलबाट फोन गरेँ । मुखमा आएको चाडबाड छोडेर नजा भन्नुहुन्छ भनेर जान्छु पनि नभनी निस्केँ भन्दै थिएँ । आमा रुन लाग्नु भो । मेरो पनि गला अवरुद्ध भो । फोन काटेँ दुनियाँ हेरेँ यात्रा रहेछ जिन्दगी भन्ने गीत गुनगुनाउँदै दुबईको यात्रा तय गरेँ।

यता प्लेनबाट बाहिर निस्किँदा मान्छेहरु नेपाली भन्दै मुखामुख गरिरहेका थिए । किन भन्ने मैले भ्याउ पाउन सकिरहेको थिइन । म सञ्चार जगतबाट पूर्णतः विच्छेद थिएँ । जब रुममा आएर टीभी के खोलेको थिएँ विजोग भएको देखेर यो पत्र लेख्दैछु ।

प्राकृतिक विपत्ति आउँछ तर यस्तो विजोग दैवले देखिने गर्छ । सचेतनाको कमी प्रष्ट देखिन्छ । के गर्ने बर्खामासमा गलेको जमीनमा डोजर चलाउनु भनेको सुत्केरी आमाको छातीमा बुट बजार्नु सरह हो भनेर कसलाई कसले हो सम्झाउने ?  बाटो चाक्लो गराउने नाममा त्यो संवेदनशील ठाउँमा डोजर नचलाइदिएको भए त्यति धेरै धनजनको क्षति हुने त थिएन । 

ए अनि प्रिय म सवार बस त्यही थियो जुन पहिरोले पुरिएको अवस्थामा दुई दिनपछिमात्र थाहा भो । दैवको लीला म त बाँचेँ । तर त्यो बससँगै दर्जनौँका सपना विलाप भएका छन् । दर्जनौँ टुहुरा भए । सिन्दूर पुछियो । गर्नु दुःख मनाउनु बाहेक केही गर्न नसकिने रहेछ । 

आफ्नो ख्याल राख्नू । बैंकको किस्ता र ब्याज तिर्ने पैसा जोहो गरेर एउटा मोबाइल किनेपछि नेटमा कुरा गरौँला । अनि स्वर्णलक्ष्मी सहकारीमा केही पैसा छ । त्यो फसेको पैसा पाए बाढी पीडितको नाममा दान गरिदिनू । 

हुनत लाखौँ करोडौँ बचत डुबेकाहरुले त केही गर्न सकेका छैनन् हामी जाबाको केही हजार बचत भएकाहरुको के सुनुवाइ होला र ।

अनि त्यो मेरो साथी थियो नि अच्युत ऊ पनि दशैँ मनाउन ११ वर्षमा नेपाल आएको पूर्व जाने बाटो पहिरोले लगेर उतै अट्केको छ रे । प्लनेको टिकट पाएन । जमीनको बाटो बन्द छ । म त अलपत्र परेँ नि साथी भन्दै थियो । तिमीहरु पनि पानी परो भने पहाड घर नजानु । 

निकै नाजुक छ काठमाडौँदेखि खैरेनी र नारायणगढ खैरेनीसम्मको बाटो । बाचिए अर्को साल दशैँ मनाउन पाइन्छ । कथंकदाचित् केही भए के गर्नि देशको  चिन्ता गरेर के गर्नु आफ्नो ख्याल राख्नू । लौ तनि लेख्ने कुरा अनगिन्ती हुँदा हुँदै आजलाई यत्तिनै फेरि अर्को भेट्मा ।

उहीँ तिम्रो परदेशी माया

दामु

(बाग्लुङका शर्मा नौ वर्षदेखि यूएईमा कर्मरत छन् । उनी बुद्धिले बाँचेका साहसी युवा हुन् । आफैँले पहिरो छिचोल्ने साहस नगरेको भए झ्याप्ले खोलाको पहिरोले सम्भवतः उनलाई लैजाने थियो । कस्तो पीडाबीच घर छाड्नु पर्छ र डोजरे विकासले मुलुक कसरी छियाछिया भइरहेको छ भनी उनले केलाएका छन् । उनले यो पत्रमार्फत प्राकृतिक विपद् बाजा बजाएर नआउने तर यसलाई कम गर्न मानिसले नै सक्ने सन्देशसमेत दिएका छन् )

                                                                   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ