पाेखरा । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको हो ।
पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट रु १० लाख, गाउँपालिकाको रु १३ लाख ६० हजार लागत साझेदारी गरी कूल रु २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा सहयोग पुग्ने गौतमले बताए । खुमै डाँडा र क्रोचोङको पदयात्रा पनि यहीँबाट सुरु हुन्छ ।
सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङ रुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।
पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र र व्यायामशाला निर्माण भएको छ ।