arrow

नेपाल–अमेरिका टी–२० शुक्रबार बिहान ५ः४५ बजेदेखि, सन्दीप भिसा नपाएपछि फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
team-nepal-24-10-15.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले शुक्रबार बिहान अमेरिका विरुद्धको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेल खेल्दैछ । नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी–२० खेल भएको छ । टी–२० विश्वकप छनोट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी–२० खेल भएको छैन । 

यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भए पनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।

यसअघि पनि अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । उनलाई भिसा दिन जतिसुकै राजनीतिक स्टन्ट गरिएको भए पनि उनको आनीबानी र व्यवहारलाई आधार मानेर अमेरिकाले भिसा दिन अस्वीकार गर्दै आएको बुझिन्छ । 

अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् । 

त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी–२० श्रृंखलाका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।

नेपालले श्रृंखलाको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ