arrow

महिला टी–२० विश्वकपको उपाधि न्यूजिल्याण्डलाई, दक्षिण अफ्रिका पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
t20-worldcup-women-2024-nz-.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि न्यूजिल्याण्डले जितेको छ । यूएईको दुबईमा आइतबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजिल्याण्ड उपाधि जित्न सफल भएको हो । यो न्यूजिल्याण्डको पहिलो उपाधि हो । 

यता हारसँगै दक्षिण अफ्रिकाले कुनै पनि क्रिकेटमा विश्वकपको उपाधि जित्नबाट फेरि चुकेको छ । दक्षिण अफ्रिकाले महिलादेखि पुरुष वा एक दिवसीयदेखि टी–२० कुनै पनि विश्वकपको उपाधि जित्न सकेको छैन । 

न्यूजिल्याण्डले दिएको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २६ रन मात्र बनाएको थियो । कप्तान लाउरा उल्भार्टले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई कम योगफलमा रोक्ने क्रममा रोजमेरी मायर र एमेलिया केरले समान ३–३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ५८ रन बनाएको थियो । अलराउन्डर केरले सर्वाधिक ४३ रन बनाइन् । त्यस्तै ब्रुक हालिडेले ३८ तथा सुजी बेट्सले ३२ रन जोडिन् । 

एमेलिया केर प्लेअर अफ द फाइनलसँगै प्लेअर अफ द सिरिज बनिन् । 

१० टिमले खेलेको विश्वकपमा अष्ट्रेलिया र वेष्ट इन्डिज सेमिफाइनलबाट बाहिरिएका थिए भने भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इङ्गल्याण्ड र स्कटल्याण्ड भने समूह चरणबाटै बाहिरिएका थिए । 

सन् २००९ देखि शुरु भएको महिला टी–२० विश्वकपमा यसअघि अष्ट्रेलियाले छ पटक तथा इङ्गल्याण्ड र वेष्ट इन्डिजले एक पटक विश्वकपको उपाधि जितेका छन् ।

नवौँ संस्करण न्यूजिल्याण्डले जितेसँगै विश्वकप जित्ने टिमको संख्या चार पुगेको छ । दशौँ संस्करण सन् २०२६ मा इङ्गल्याण्डमा हुनेछ । आठ टिमबाट शुरु भएको विश्वकपमा दशौँ संस्करणमा आएर १२ टिमले सहभागतिा जनाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ