arrow

सहकारी पीडितले पोखरामा प्रदर्शन गर्दै, कांग्रेस-एमालेको अघोषित ऐक्यवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
sahakari-pidit-pokhara.jpg
फाइल तस्बिर

पोखरा। पोखराका सहकारी पीडितले बचत फिर्ताको माग गर्दै आज प्रदर्शन गर्ने भएका छन् । आज बिहान ११ बजे पोखराको मुस्ताङचोकमा जम्मा भएर प्रदर्शन गर्न लागेको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले जनाएको छ ।

उनीहरुको आन्दोलनलाई कास्कीस्थित अन्य राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । विशेषगरी सत्तारुढ एमाले र कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता जनाएका हुन् । दुवै पार्टीले झण्डा नबोकिकन सहकारी पीडितको आन्दोलनमा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेका छन् ।

संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न माग पनि गरेको छ ।

संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाउँदै रास्वपा सरकारमा हुँदासमेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको गुनासो गरेको छ ।

आफूहरुको गम्भीर विषयलाई राजनीतिक बनाएर ओझेलमा पार्न खोजिएको भन्दै संघले आज प्रदर्शन गर्न लागेको जनाएको छ ।

आन्दोलनमा जनसहभागिता नदेखिएपछि रास्वपाका नेताहरु पोखरेलीको घरघरमा पुगेर आन्दोलनमा समर्थन गरिदिन आग्रह गरेका थिए । आन्दोलनमा देशभरबाट पोखरा आएका रास्वपाको कार्यकर्तामात्रै देखिन्छन् ।

शनिबार पोखराको चिप्लेढुंगामा जनसहभागिता देखिँदा हौसिएको रास्वपाले निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो । पछिका आन्दोलनमा जनसहभागिता नभएपछि रास्वपाको आन्दोलन टुहुरो जस्तो देखिएको छ ।

मंगलबारको रास्वपाको आन्दोलनको फोटो फेसबुकमा सेयर गर्दै एक पोखरेली लेख्छन्, ‘यति जनसहभागिता हाम्रो गाउँमा भैँसी काट्दा पनि हुन्थ्यो ।’

सरकारले कानूनी बाटोबाटै प्रक्रिया अघि बढाउँदा पनि रास्वपाले अनावश्यक बखेडा गरेर अराजनीतिक चरित्र देखाएको पोखरेलीको जिकिर छ ।

पोखरेली राजनीतिकर्मी भन्छन्, ‘कानूनी प्रक्रियामा मुद्दा चलिरहँदा कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीले कहिल्यै पनि यस्ता गतिविधि गरेका थिएनन् ।’

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याइएसँगै पोखरा अशान्त छ । गत शनिबारदेखि रास्वपाले देशभरका कार्यकर्ता उतारेर पोखरा केन्द्रित आन्दोलन गरिरहेको छ ।

आन्दोलनकै क्रममा रास्वपाकै कार्यकर्ताद्वारा रास्वपाकै कुटिएका थिए । अन्य दलबाट घुसपैठ भएको आरोप लगाए पनि अन्तिममा रास्वपाकै कार्यकर्ताले कुटपिट गरेको पुष्टि भएको थियो ।

गत आइतबार शहीदचोकमा प्रदर्शन गर्नेक्रममा रास्वपाका कार्यकर्तामाथि नै कुटपिट भएको थियो । सो दिन रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका थिए । सोही दिन सहकारी पीडितले पनि राष्ट्रबैंकचोकमा प्रदर्शन गरेका थिए ।

दुई पक्षको प्रदर्शनले पोखरा दिनभर तनावग्रस्त बनेको थियो । भिड नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपरेको थियो भने प्रहरीले पनि बल प्रयोग गर्नुपरेको थियो । रास्वपाका कार्यकर्ता उग्र बनेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ