- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत मैदानमा रहेका छन् । यो खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ ।
भारत पाँच पटकको विजेता हो भने नेपाल पाँच पटकको उपविजेता हो । साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्धन्द्धी भारत नै हो । यो खेलको विजेताले फाइनलमा बंगलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेश ७–१ ले विजयी भएको थियो ।
बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । मध्यान्तरसम्म बंगलादेश ५–१ ले अगाडि रहेकामा मध्यान्तरपछि २ गोल गरेको थियो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ तथा ऋतुपूर्ण चक्मा र सेउली अजिमले १(१ गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।
साविक विजेता बंगलादेशले समूह चरणमा पाकिस्तानसँग बराबरी खेल्दा भारतमाथि शानदार जित निकाल्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको थियो भने भुटानले नेपालसँग बराबरी खेल्दा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । तर भुटानले जुन तरिकाले नेपाललाई रोकेको थियो उक्त प्रदर्शन गर्न सकेन ।
समूह एबाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका थिए भने समूह बीबाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका थिए । बंगलादेश समूह एमा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो ।
त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो । त्यस्तै समूह एबाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो ।
त्यस्तै समूह बीमा भने नेपाल समूह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले र तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।
नेपालले तीन खेलमा कुल १७ गोल गरेर कुनै गोल खाएको छैन । त्यस्तै भुटान भने ३ खेलमा ७ अंक नै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
भुटानले पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३–० ले पराजित गरेको थियो ।
गत संस्करण भने नेपालले बंगलादेशसँग घरेलु मैदानमै हारेको थियो । बंगलादेश फेरि पनि फाइनलमा पुगेको छ ।