arrow

किरण राणा एकदिने एआईजी, आजै फुली आजै बिदाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
kiran-rana-aig-one-day-.jpg

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उनले चर्चा गरे ।  

प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागि परि नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वास योग्य संस्थाको रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारीमा खरो रूपमा उत्रिन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

सरूवा, बढुवा लगायत नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उनले उल्लेख गरे ।

नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्ग निर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उनले व्यक्त गरे । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताइन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

किरण राणा एकदिने एआईजी
एआईजी राणालाई एक दिने एआईजी बनाइएको छ भने डा ह्योजूलाई लामो समयदेखि पदोन्नति नगरी राखिएको थियो । अब उनी नेपाल प्रहरी अस्पतालको प्रमुख भएका छन् । 

राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकी थिइन् । 

कार्तिक ५ गते राणालाई एआईजी सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्बाट सिफारिस तत्काल स्वीकृत नगर्दा ढिला गरी एआईजीको फुली लगाएकी हुन् । 

उनी कार्तिक १६ गते अनिवार्य अवकाशमा जानु पर्नेमा त्यो दिन तिहारको बिदा भएकाले आजै फुली लगाइदिएर आजै बिदाई गरिएको छ । 

यसले उनको करियरमा मान त बढेको छ तर एक दिने एआईजी भएर देशले आर्थिक भार भने बेहोरेको छ । अर्थात् उनले कुनै पनि विभाग नसम्हाली फुली लगाएर घर गए पनि एआईजीकै सेवा सुविधा पाउने छिन् । 

राणा पूर्व मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतकी नातेदार हुन् ।

एआईजी रामदत्त जोशीले पनि अवकाश पाएका छन् । उनको यही कार्तिक १७ गते अवकाश हुने भए पनि सार्वजनिक बिदा भएकाले आजै औपचारिक बिदाइ गरिएको छ । 

लामै लिष्ट छ छोटो अवधि एआईजी खानेको 
रिक्त पदमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बुद्धि गुरुङ सिफारिस हुने सम्भावना छ। तर छोटो अवधिका लागि एआईजी हुनेको लिष्ट लामो हुन थालेको छ । 

प्रहरी ऐन सुधार गरी ३० वर्षे हटाउने हो भने पदावधि बढ्ने देखिन्छ । 

जस्तै मंसिर १७ गते एआईजी किरण बज्राचार्यले अवकाश पाउँदैछिन् । मंसिरको २८ गते एआईजी भीम ढकालले अवकाश पाउँदैछन् ।

गुरुङ वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै चैत ४ गते अवकाशमा जान्छन् । ढकालद्वय र बज्राचार्य अवकाशमा जाँदा दुर्गा सिंह, कुबेर कडायत र भरत बोहराले एआईजी पाउने सम्भावना छ। बोहरा पुस दोस्रो साता अवकाशमा जाँदैछन् भने बाँकी साढे तीन महिना एआईजी पदमा रहन्छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ