- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन् ।
शङ्खरापुर नगरपालिका-६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताए ।
'शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्,' अध्यक्ष दाहालले भने, 'यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ ।'
आफू छोटो समय शिक्षकका रुपमा काम गरेको स्मरण गर्दै उनले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
शिक्षण पेसालाई अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेसाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नेपाली जनताको त्याग र बलिदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनका क्रममा रहेको भन्दै उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताए ।
साँखु क्षेत्रको विकास साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोगसहित आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताए ।
'शैक्षिक गुणस्तर कायम गर्नु शिक्षक, अभिभावक, विद्यार्थी सबैको जिम्मेवारी हो,' उनले भने, 'यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु ।'